११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च

१८ असार, पर्वत । पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए । यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ ।

“कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, पौडेलले भने, “हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।”

ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्चमात्रामा रहेको पाइएको छ । उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणका क्रममा ८० प्रतिशत, फलेबास नगरपालिकाभित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशत, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा तीमध्येका ६६ प्रतिशत, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा तीमध्येका ६१ प्रतिशत, पैँयु गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानको पानीमा ‘कोलिफर्म’ फेला परेको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा सुरज नेपालीले बताउनुभयो । “कोलिफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने हुन्छ । यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ”, उनले भने, “यो बर्खाको बेलामा कोलिफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।”

प्रकाशित मिति : July 2, 2022 at 5:21 pm