१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

औषधिको मूल्य कसले निर्धारण गर्ने ?

-रामलाल श्रेष्ठ

औषधि जिवन रक्षक पदार्थ हो। जिवनको रक्षा गर्ने पदार्थ भएको हुदा यो अति आवश्यक बस्तु अन्तरगत राखिएको हो। मानिसको जिवन रक्षाको लागि हावा, पानी र खाद्य पदार्थ अती आवश्यक बस्तु हो। हावा अर्थात् अक्सिजन विना मानिस एक छिन पनी बाच्न सक्दैन। हावा पछी पानी र पानी पछी खाद्यान्न वीना मानिस धेरै समय बाच्न सकिदैन ।

प्रकृतिमा मानिसको जिवन रक्षा गर्ने अती आवश्यक बस्तू हावा प्रचूर मात्रामा उत्पादन हुन्छ। त्यस्तै मानिसको जिवन रक्षाको लागि अति आवश्यक पानी पनी प्रकृतिमा प्रचुर मात्रामा उत्पादन भएको देखिन्छ। मानव जिवनलाइ अति आवश्यक उर्जा अर्थात् प्रकास पनी प्रचूर मात्रामा उत्पादन भएको देखिन्छ ।

हावा, पानी र सूर्यको प्रकाश प्रकृतिमा प्रचुर मात्रामा उत्पादन भएको हुनाले यी बस्तुहरू शून्य मूल्यमा उपलब्ध भैरहेको छ। यसवाट के निष्कर्ष निकाल्न सकिन्छ भने कुनै पनी मानविय आवस्यकताको बस्तु प्रचूर मात्रामा उत्पादन भयो भने त्यो बस्तुको मूल्य शून्यमा उपलब्ध हुन्छ। यसको ठिक उल्टो बस्तुको उत्पादन धटदै धटदै सिमीत मात्रामा हुदा बस्तुको मूल्य उकालो लाग्न थाल्दछ।

मानिसलाई बाच्नको लागि अती आवस्यक अक्सिजन हावामा प्रचूर मात्रामा उपलब्ध हुदा सुन्य मूल्यमा प्राप्त हुन्छ भने त्यही अक्सिजन कोभीढको विरामी वा दमको विरामीलाई आवस्यकता पर्दा कृतिम तरिकाले अस्पतालमा उत्पादन गरी उपलब्ध गराउन पर्दा मूल्य तिर्न पर्ने हुन्छ। त्यस्तै हिरा वा सून जस्ता धातुहरू धर्तीमा जहातही पानी जस्तो प्रचुर मात्रामा उपलब्ध छैन। धर्तीको कुनै अनकन्टार खानीवाट त्यसको उत्पादन गर्नु पर्ने र बहुमूल्य धातूको रुपमा मानिसको जिवन रक्षाको सम्पत्तिको रुपमा हिरा र सूनको उपयोगिता भएको हुदा यी धातूको मुल्य धेरै भएको हो।

यता हाम्रो देशको पहाडी र हिमाली भेगमा पानीको प्रचूर मात्रामा उत्पादन हुने हुदा विना पैसा पानी उपलब्ध भैरहेको छ। तर त्यही पानी कतार वा साउदी अरव वा दुवइमा हाम्रो हिमाल वा पहाडमा जस्तो प्रचुर मात्रामा उत्पादन नहूने हुदा पानीको मूल्य कतार र दूवइमा महंगो मूल्य पर्दछ। कतार, दुबई र साउदी र इरान तथा इराक तिर पेट्रोलियम पदार्थको उत्पादन प्रचूर मात्रामा हुने हुदा त्यतातिर प्रेट्रोल तथा डिजलको मूल्य कम पर्दछ भने हाम्रो तिर पेट्रोलियम पदार्थको मूल्य बढी पर्दछ।

तसर्थ कुनै पनी बस्तुको मूल्य प्राकृतिक रुपले त्यो बस्तुको उत्पादनको मात्रामा निर्धारण हुन्छ। बस्तुको उत्पादनको मात्रा बढदै बढदै प्रचूर रुपले हुदा मूल्य धटदै धटदै सून्यमा पुग्दो रहेछ भने बस्तुको उत्पादनको मात्रा धटदै धटदै उपलब्ध हुन कठिन हुने अवस्थामा पुग्दा बस्तुको मूल्य बढदै बढदै आकास छुने अबस्थामा पुग्ने रहेछ। यो प्राकृतिक नियम हो। मूल्य निर्धारणको यो नियम मानिसले बनाएको नियम होइन। बस्तुको उत्पादनको प्रचूरतामा मूल्य धटने र उत्पादनको कमीमा मूल्य बढने यो प्राकृतिक नियम हो।

औषधिको मूल्य निर्धारण गर्ने उच्च नेतृत्वसँग यो ज्ञानको कमी रहेको सर्वत्र महसूस गरिएको छ। औषधि हावा वा प्रकाश वा पानी जस्तो प्रकृतिमा प्रचुर मात्रामा उत्पादन हुने बस्तु त होइन। मानिस विमार हुदा हावा वा प्रकास वा पानी जस्तै जिवन रक्षक बस्तु हो। जिवन रक्षक पदार्थ भएको हुदा हावा वा पानी वा प्रकास जस्तै प्रचुर मात्रामा उत्पादन गर्दा मात्रै कम मूल्यमा उपलब्ध हुने बस्तुको रूपमा स्थापित गर्नुपर्ने हुन्छ।

संसारभरीनै कम आय भएका गरिव निमूखा जनतालाई औषधिको बढी आवस्यकता पर्ने र तिनै मानिसमा बढी मूल्यमा औषधि खरिद गर्न असमर्थ हुने हुदा औषधिको मूल्य सधैभरी ति मानिसको पहुँचमा राखीराख्नु पर्ने बाध्यता सधै रहिरहन्छ। गरिव निमूखा मानिसलाई रोग र भोगले बढी सताउने र ति मानिसको ज्याला वा आम्दानी सधैभरी जिवन निर्वाहको लागी मात्र निर्धारण हुने हुदा ती गरिव निमुखा संग बचत नहुने हुदा औषधि उपचारमा ति मानिसहरु संग जगेडा रकम नहुने हुदा औषधिको मूल्य सधैभरी ति मानिसको पहुच भित्र राखिराख्नु अपरिहार्य हुन्छ।

नेपालको औषधिको मूल्य निर्धारणमा यो पाटोलाइ बिल्कुलै वास्ता गरिएको छैन। औषधिको उत्पादनमा उच्च खाले प्रविधीको प्रयोग हुन थालेको विसौ शताब्दीको सुरू देखि नै हो। प्रथम विश्वयुद्ध (१९१४-१९) को अवधीमा औषधि उत्पादन सुसुप्त अवस्थामा नै थियो। लडाइको मैदानमा सैनिकहरू घाइते हुदा प्रयोग हुने प्रतिजैविक औषधि एन्टिवायोटिकको प्रविधी प्रयोग गरेर कारखानामा उत्पादन सुरू भैसकेको थिएन।

आज एक शताब्दी भित्र औषधि उत्पादन र उत्पादनमा प्रयोग हुने प्रविधि ले लामो फडको मारिसकेको छ। आज संसारलाई पुग्ने हिसाबले प्रचुर मात्रामा उपलब्ध हुने गरी औषधि उत्पादन गर्न सकिने प्रविधि बनिसकेको स्थिती छ। हावा वा पानी जस्तै प्रचुर मात्रामा उत्पादन हुने प्रविधि बनिसकेको छ। उत्पादनमा प्रचुरता विना मूल्य धटाउन नसकिने प्राकृतिक नियमलाई आत्मसाथ गर्दै अनुसन्धानमा लागेको खर्च उठाइसकेपछी संसारको जुनसुकै कुनामा पनी औषधि उत्पादन अनुमती दिने बिस्वब्यापी प्रणाली विकसीत गरिएको छ।

यो प्रणालीले भारत, बंगलादेश, पाकिस्तान र नेपाल जस्ता देशहरूलाई औषधिको मूल्य सर्वसाधारणको पहुँच भित्र राख्न निकै बल मिलेको छ। आज यी देशहरूमा औषधिको मूल्य अन्य विकसित देशहरूको मूल्य भन्दा निकै कम मूल्यमा उपलब्ध हुने स्थिती निर्माण भएको छ।

औषधिको मूल्य निर्धारण कसले गर्ने ?

कुनै पनी बस्तुको मूल्य निर्धारण प्राकृतिक रुपले हुने गर्दछ। औषधिको मूल्य पनी प्राकृतिक रुपले त्यसको उत्पादनको मात्राले निर्धारण हुन्छ। नेपालका औषधि उत्पादक देखी औषधि ब्यबस्था बिभागका उच्च पदाधिकारी र स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी सम्मले नबुझेको कुरा यही हो । औषधिको मूल्य निर्धारण गरेर औषधिको उत्पादनको मात्रा बढदैन। औषधीको उत्पादनको मात्राले औषधिको मूल्य निर्धारण हुदै जान्छ।

नेपाली बजारमा आजभन्दा विस बर्ष अगाडि प्यारासिटामोल औषधिको मूल्य निर्धारण गरियो। सरकारले मूल्य निर्धारण गरेपछी सिटामोलको उपलब्धता घट्दै गयो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको कालपोल बजार वाट हरायो। विदेसवाट सिटामोल आउन बन्द भयो। स्वदेसी कम्पनीले सिटामोल बनाउन रूचि देखाएनन। पचपन्न पैसाको मूल्यमा सिटामोल बनायर वेच्दा कम्पनीलाई घाटा हुने कारण सिमीत कम्पनीले मात्रै सिटामोल उत्पादन गर्न थाले। सिटामोलको उत्पादनको मात्रा बढ्दै जादा मूल्य घटदै जाने प्राकृतिक नियम सिटामोलमा लागू भएन।

एउटा वा दुइवटा कम्पनीले मात्र सिटामोल उत्पादन गर्दा उत्पादनको मात्रा बढदै जादा मूल्य घटदै जाने नियम ती कम्पनीमा लागू हुनै सकेन। यसको पछाडी बस्तुको उत्पादनमा लाग्ने स्थिर पुंजि र चलायमान पुंजिको अन्तरसम्बन्धको ज्ञानको अभाव मूल्य निर्धारण गर्ने नेतृत्वमा स्पष्ट देखिन्छ। सिटामोलको उत्पादन खर्चको बैज्ञानिक अन्तरसम्बन्धको ज्ञानविना हचुवाको भरमा मूल्य निर्धारण गरिदा कोभिढ माहामरीमा नेपाली बजारमा सिटामोल अभाव देखिएको हामी सबैको सामू स्पष्ट नै छ। काठमाडौं उपत्यकामा हैजाको विरामी देखिन सुरू भएको छ।

बजारमा जिवनजल जस्ता अति आवश्यक पुनर्जलिय औषधि उपलब्ध छैन। यदी हैजाको विरामी कोभिढ जस्तै गरी महामारीको रुपमा फैलिने हो भने बजारमा पुनर्जलिय औषधिको हाहाकार हुने अवस्था छ। बिदेश कम्पनीले निर्माण गर्दे गरेको पुनर्जलिय औषधि भारत मै १७ /-रुपिया एम आर पी मा भारतीय बजारमा प्रचूर मात्रामा उपलब्ध छ। तर त्यही कम्पनीको पुंनर्जलिय औषधिको मूल्य रू १०/_मा नेपाली बजारमा उपलब्ध गराउन मूल्य निर्धारण गरिएको छ। स्वदेशी कम्पनीले रू १०/- को एम आर पी मूल्यमा पुनर्जलिय औषधि उत्पादन गर्न सकिदैन भनेर उत्पादन नगरी बसेको स्थिती छ।

बस्तुको मूल्य निर्धारणको शैध्दान्तिक पाटोलाइ एउटा कुनामा थन्काउदा नेपाली बजारमा जिवन रक्षक औषधिको अभाव अकासिएको छ। चिकित्सकले सिफारिस गरेका औषधिहरू नेपाली बजारमा सजिलै उपलब्ध नहुदा भारतीय बजारवाट अर्को बाटोवाट महंगो मूल्यमा भित्रिरहेको छ। दिल्ली कलकत्ता र दक्षिण भारतमा उपचारका लागी जाने नेपाली विरामीहरूले त्यहाको चिकित्सकले सिफारिस गरेका औषधि नेपाली बजारमा उपलब्ध हुनै छोडेका छन।

यी सबैले भारतीय बजारवाट कुनै न कुनै माध्यमबाट आफ्नो औषधीको जोहो गरिरहेका छन । नेपालमा औषधी उत्पादनमा लागेका, विदेशवाट औषधि आयातमा लागेका आपुर्तिकर्ता र सरकारका उच्च नेतृत्वले बस्तुको मूल्य निर्धारणको प्राकृतिक शिध्दान्तको अध्ययन गर्न मेरो विनम्र अनुरोध छ ।

लेखक श्रेष्ठ औषधि व्यवसायी हुन । 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १२:३६