९ असार २०८१, आईतवार | Sun Jun 23 2024

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु, रोकिएन टिपर अतंक


९ असार, काठमाडाैँ । भक्तपुरको आदर्श चोक नजिक बिहीबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले टिपरको सञ्चालन व्यवस्थित बनाउने भने पनि काठमाडाैँ उपत्याकामा टिपरले अझै मान्छे मार्नेक्रम रोकिएको छैन । अत्याधिक गतिका कारण टिपरहरू दुर्घटनामा पर्ने गरेका छन ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०९:३७