सेयर बजारका लगानीकर्ताले १९ बुँदे मागसहितको ज्ञापनपत्र धितोपत्र बोर्डमा बुझाए (भिडियाेसहित)
२३ जेठ, काठमाडाैँ । पुँजी बजार सुधार लागि भन्दै सेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार पुँजी बजार सुधार संघर्ष समितिका तर्फबाट तिलक कोइरालाले बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउदै कोईरालाले १९ बुँदे माग अधिकांश माग तत्कालै पुरा सक्ने बताए । अन्य मागलाई कार्यान्वयनका लागि पनि आफुहरुको सहयोग हुने उनले बताए ।
उनले पुँजी बजार सुधारका लागि नियमनकारी निकायहरुले गर्नु पर्ने कामहरु पनि गर्न नसकेको बताए । त्यस्तै सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् ।
उनले सोही १९ बुँदे माग धितोपत्र बोर्डलाई बुझाएका हुन् । साथै, उनले आमरण अनसन सुरु हुनभन्दा पहिले नै मागहरुमाथि धितोपत्र बोर्डले सम्बोधन गर्ने अपेक्षा रहेको बताए । बिगतको एमाले सरकारले साढे ३ वर्ष अघि नै सम्पन्न गर्छु भनेका र वर्तमान अर्थमन्त्रीले २ महिना अघि गरिसक्छु भनेर प्रतिबद्धता गरेका ५८ बुँदाँमध्ये बाँकी काम तत्काल पूरा हुनैपर्ने उनले बताए ।
ज्ञापन पत्र बुझ्दै बोर्डका अध्यक्ष हमालले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको र अहिले पनि पुँजी बजार सुधार गरिरहेको दावी गरे । उनले अन्य मागका बिषयमा सरोकारवाला निकायसंग छलफल गरिने प्रतिवद्धता जनाए ।
सेयर बजारका लगानीकर्ताले आफुहरुको मागप्रति चासो नदेखाए कडा आन्दोलन गर्ने चेतवनी दिएका छन् । आफ्ना मागका बिषयमा अर्थमन्त्रालयका साथै बिभिन्न राजनीतिक पार्टीहरुसंग छलफल गर्ने तयारी उनीहरुले गरेका छन् ।
प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १८:१७












