३ चैत्र २०८२, मंगलवार | Wed Mar 18 2026

बिन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि आईपीओ निष्काशन गर्ने

१३ जेठ, काठमाडाैँ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ बन्द छिटोमा जेठ २५ गते हुनेछ भने ढिलोमा असार ३ गते हुनेछ। कम्पनीकाे आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ११:०५