१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

श्रममन्त्री विष्टले सार्वजनिक गरे ‘जबखोज’ एप्स, बेरोजगारलार्इ लाभ लिन अाग्रह

९ भदाै, काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ । रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ताँती’ लाग्नुपर्ने अवस्थाको अन्त्य गर्छ, नेपाली युवाको योग्यता र क्षमताअनुसारको रोजगारीको अवसर सरकारले यहीँ उपलब्ध गराउँछ ।”

रोजगारदाता र रोजगारीको खोजीमा रहेका दुवै पक्षले एप्सबाट फाइदा लिनसक्ने बताउँदै उहाँले बेरोजगार व्यक्तिलाई रोजगारीको सम्भावित क्षेत्रसम्म जोड्नलाई एप्सले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोजगारदाता र रोजगारीको खोजीमा रहेको संस्था तथा व्यक्तिले आफूले खोजेको जस्तो योग्यतम् व्यक्ति र उच्चतम् रोजगारीको अवसर प्रदान गर्न एप्सले सहयोग गर्नेछ ।”

सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताउँदै मन्त्री विष्टले रोजगारसम्बन्धी सूचनालाई कमजोर आर्थिक अवस्था भएका व्यक्तिको पहुँचसम्म पुग्ने गरी एप्सको परिमार्जन गर्न सुझाव दिनुभयो । श्रम मन्त्रालयका सचिव महेश दाहालले श्रम बजारलाई व्यवस्थित बनाउन उक्त एप्सको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले अनलाईन जबखोज पोर्टल र मोबाइल एप्सलाई ७५३ स्थानीय तहमार्फत सञ्चालनमा ल्याइने बताउनुभयो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक विद्युतीय माध्यमबाट रोजगारदता र रोजगार चाहने व्यक्तिलाई एकै स्थानमा ल्याउन एप्स निर्माण गरिएको बताउनुभयो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विश्वनाथ प्याकुरेलले कामको खोजीमा विदेश भौतारिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न यस्ता प्रविधिले सहयोग पु¥याउने बताउनुभयो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप्स निर्माण गरिएको हो । उक्त एप्समार्फत कामको प्रकार, पारिश्रमिक सीमा, आवश्यक सीप, शिक्षा र ठेगनाका आधारमा उपलब्ध रोजगारीको अवसरका बारेमा जानकारी लिन सकिन्छ । त्यस्तै रोजगारदाताले कामको प्रकार, लिंग, उमेर समूह, सीप, शिक्षा र ठेगानाका आधारमा रोजगार खोज्नेको विवरण हेर्न सक्नेछन् । उनीहरुले आफ्नो प्रतिष्ठानका लागि आवश्यक कामदार त्यहीबाट लिन सक्नेछन् ।

प्रकाशित मिति : August 25, 2018 at 6:42 am