११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

लेखापढी व्यवसायीले मालपोत र नापीका कोठाकोठा चाहर्न नपाउने, गेटमा प्रहरीको पहरा

६ भदाै, काठमाडाैँ । लेखापढी व्यवसायीले मालपोत कार्यालयका कोठाकोठा चाहर्न नपाउने भएका छन । यसलार्इ कडाइका साथ कार्यान्वयन गर्न मुल ढोकामा प्रहरीको सुरक्षा राख्ने तयारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको छ । यसैलार्इ कार्यान्वयन गर्नका निम्ति मालपोत र नापीभित्र रहेर नीजि व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीलाई त्यहाँबाट बाहिर जान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १५ दिने अल्टिमेटम (समय सीमा) दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालय हाताभित्र लेखापढी व्यवसाय गर्दै आएकाहरूलाई १५ दिनभित्र कार्यालय परिसरबाहिर जान अल्टिमेटम दिएकी हुन्। उनले सरकारी कार्यालय हाताभित्र लेखापढी व्यवसायीहरूको कार्यालय भएमा आपसी समन्वयका आधारमा १५ दिनभित्र कार्यालय बाहिर सार्न मातहतका निकायहरूलाई निर्देशन दिएकी छन्।

देशभरका १३१ वटा कार्यालयलाई परिपत्र गर्दै मन्त्री अर्यालले मालपोत कार्यालयहरूमा लेखापढी गर्ने कानुन व्यवसायीहरूलाई अनिवार्य रुपमा आफ्नो परिचयपत्र लगाएर कार्यालयको शुरु बिन्दुसम्म मात्र प्रवेश गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएकी हुन्। परिपत्रमा लेखापढी गर्ने सहायक कर्मचारीहरूको प्रवेश तुरुन्त बन्द गरी त्यसको जानकारी मालपोत कार्यालयले १५ दिनभित्र विभागमा गराउन समेत निर्देशन दिइएको छ।

मालपोत तथा नापी कार्यालयहरूमा अनाधिकृत व्यक्तिको प्रवेश निषेध गरी वास्तविक सेवाग्राहीले मात्र कार्यालय भित्र प्रवेश गराउने व्यवस्थाका लागि कार्यालय समयभर सुरक्षाकर्मीको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गरिएको मन्त्री अर्यालले जानकारी दिइन्। यस्तै, मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ईजाजतपत्र नम्बर, प्यान नम्बर उल्लेख गरी सम्बन्धित मालपोत कार्यालयमा दर्ता गराउनु पर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले मालपोत तथा भूमिसुधार कार्यालयमा पेश हुने लिखित तयार वापत लेखापढी व्यवसायीहरूले लिने शुल्क समेत तोक्न निर्देशन दिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०७:२४