२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

~डा. विदुर चालिसे

एक हातमा दही र अर्काे हातमा चिउरा थियाे । राताे अछेता मुछिएकाे भूईंमा थियाे । माला किलामा झुण्डिएकाे थियाे । खेम्पाेले वरिपरि उपस्थित रहेका आनीहरू सबैलाई हँसाउदै भने ।

–“गाेरखनाथकाे दै-च्यूरा खाने ?”

–“दै-च्यूरा खाए के हुन्छ ? गुरु !”

–“सत्ता जितिन्छ, अर्काकाे शक्ति हरिन्छ !”

लाजले भुतुक्क आनीहरू खेम्पाेकाे वरिपरि घुमेर मन्त्र घाेक्न थाले । माने घुमाइरहे । माने पनि घुमिरह्याे । आनीहरू घुमिरहे । खेम्पाेकाे आडमा पञ्चमीका पाइलाझैँ आनीका पाइलाहरू सरिरहे । रमितेहरू सबै रमाइलाे मानेर गलल्ल हाँसे । उत्साह, उमङ्ग र उन्मादकाे मजाका बीच खेम्पाेलाई एकशिष्यले मनमा अपर्झट के लागेर हाे, साेधे ।

–“गुरु ! भूईंकाे राताे टिकाचाहिँ कस्लाई लगाइदिने नि त ?”

सबैकाे अनुहार अँध्याराे र अमिलाे भयाे । हाैसिएकाे माैसम एकाएक बदलिएपछि गुरूकाे दन्त बजान सुरू भयाे । उनले अर्काे आशिर्वादकाे कथा सुनाए ।

–“गाेरख गुरूले दिएकाे दै-च्यूरा पृथ्वनारायणले वाक नगरेकाे भए विश्वविजयी हुन्थे रे !”

सबै आनीहरू विश्वविजयकाे अभियान जित्न चाहन्थे । जीत हात पार्न वान्ता गर्नुहुँदैन थियाे । कतिकाे आँट चल्याे । कति जनाकाे हिम्मत भएन । एकजना याैवना आनीलाई विश्वविजय गर्ने असिमित इच्छा थियाे । उनले गुरूलाई परैबाट आँखाकाे भाकामा भनी ।

–“खै ! सबैले देख्ने गरी त के खानु र गुरु ? लाज लाग्छ !”

गुरूकाे भाका बदलियाे । उनले पुन परिस्थिति सच्याउँदै भने ।

–“वान्ताहुँदा लज्जाबाेध हुनेले नदेख्ने गरी खाए पनि हुन्छ ।”

केही अन्य शिष्यहरू लाखापाखा लागे । केही लज्जाबाेध गर्ने आनीहरू राताे अनुहार लगाएर यताउता हिंडे । बाँकी रहेकाले दही चिउराकाे आशिर्वाद थाप्न छेउकुना पुगे । त्यसपछि खेम्पाे राताे अछेताकाे टीका लगाउँदै आशीर्वाद दिँदै भन्न थाले ।

–“साैभाग्यवती भव !”

अर्काेदिन साेही ठाउँमा दही चिउरा ग्रहण गर्ने आनीहरू सबै उपस्थित थिए । खेम्पाेले गुरूत्व भावमा साेधे ।

–“तिमीहरू सबै ठीक छाै नि ?”

सबै आनीहरू चुपचाप थिए । एकजनाले लज्जाबाेध भएपनि कन्दै भनी ।

–“गुरु ! मलाई अलिकति उलुक भयाे ! विजयी हुन्छु नि !”

–“कच्चा शिष्याकाे हालत यस्तै हुन्छ !”

सबैजना पिकनिकमा रमाइरहे । उफ्रिरहे । कराइरहे । बर्बराइ रहे । हाँसिरहे । राेइरहे । अन्त्यमा थर्थराइरहे ।

–“अब समय उलटफेर भयाे ।”

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०९:५५