२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

प्रदेश–१ मा एमालेबाट प्रमुख पदमा महिलाको आसलाग्दो उम्मेदवारी

१२ वैशाख, झापा । प्रदेश–१ मा नगर र गाउँपालिकाको प्रमुख/अध्यक्ष पदमा नेकपा एमालेबाट आस लाग्दो उम्मेदवारी देखिएको छ ।एमालेले प्रदेश–१ का विभिन्न जिल्लाका स्थानीय तहमा ९ जना महिलाले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एमालेको तर्फबाट झापाको दमक नगरपालिकामा गीता अधिकारी, बिर्तामोड नगरपालिमा पवित्रा महतरा प्रसाईं, बुद्धशान्ति गाउँपालिकमा मीरा भुर्तेल, मोरङको कानेपोखरी गउँपालिकामा राजमति इङ्नाम, जहादा गाउँपालिकामा यासोद गिरी, खोटाङको बाराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगर, खोटेहाङ गाउँपालिकामा कविता राई, ओखलढुंगाको सिद्धिचरण गाउँपालिकामा इच्छाकुमारी गुरुङ र सुनसरीको धरान उपमहानगरपालिकामा एमालेले मञ्जु भण्डारीलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

९ जना उम्मेदवारसँग नै पाँच वर्ष उपप्रमुख तथा उपमेयर भएर काम गरेको अनुभव छ । ९ जना उम्मेदवारसँग नै पाँच वर्ष उपप्रमुख तथा उपमेयर भएर काम गरेको अनुभव छ । ‘उपप्रमुख र उपाध्यक्ष भएर उहाँहरुले धेरै कुरा सिक्दै कुसलतापूर्वक जिम्मेवारी निर्वाह गनुभएको छ,’ एमाले केन्द्रीय सदस्य तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भनिन्, ‘अब प्रमुख वा अध्यक्षमा राम्रो काम गर्नसक्नुहुन्छ ।’

०७४ को स्थानीय तह निर्वाचनमा महिलाको उम्मेदवारी नै थोरै थियो । प्रदेश–१ मा मेनुका काफ्ले मात्र अध्यक्ष थिइन् । यसपटक भने महिला आन्दोलनमा ठूलो सफलता भएको मेनुका बताउँछिन् । ‘यो त ठूलो सफलता हो । हामीले पार्टीमा कुरा गर्दै आएका थियौँ । यो महिला आन्दोलनको उपलब्धि हो । अनेमसंघले पनि योपटकको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा उपप्रमुख भएका महिलालाई प्रमुख बनाउनुपर्छ भन्ने मूल नारा नै थियो,’ उनले भनिन्, ‘एमालेले नै ०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि महिला प्रतिनिधित्व कुरा उठाएको हो। कार्यान्वयन पनि भयो । महिलालाई नेतृत्वमा पुर्‍याउने कुरामा एमालेलेठूलो योगदान गर्‍यो ।’

प्रकाशित मिति : April 25, 2022 at 9:47 pm