२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

सत्ता गठबन्धनबीच चुनावी तालमेल भए नुवाकोटमा एमाले झन बलियो


-निराजन आत्रेय

८ वैशाख, नुवाकोट । वैशाख ३० को स्थानीय चुनावले सबैको ध्यान खिचेको छ । आफ्नो गाउँको सरकार सञ्चालन गर्ने प्रतिनिधि छान्ने भएपछि जनतामा पनि निकै उत्साह देखिन्छ । स्थानीय तहको नेतृत्वमा गएर के गर्नु र भन्ने मानसिकता भएका राजनीतिक दलका नेताहरू पनि पालिकाको प्रमुख र उपप्रमुख भए धेरै गर्न सकिने रहेछ भनेर अहिले दलभित्र टिकट लिनका लागि हानाथापमा लागेका छन ।

एमालेको महत्वकांक्षा धेरै 

गत निर्वाचनमा नुवाकोटको १२ पालिका मध्ये तीनमा पहिलो र ६ वटा पालिकामा दोस्रो भएको एमाले यसपटक १२ वटै पालिकामा प्रथम हुने घोषणा केही दिनअघि एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले हजारौँकोबीचमा गरिसकेका छन । तर अहिलेसम्म नुवाकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले १२ मध्ये यति पालिका हामी विजय हुन्छौँ भन्ने दाबी गर्न सकेको छैन ।

यद्यपी आन्तरिक रूपमा माओवादीले १२ मध्ये १ र कांग्रेसले १२ मध्ये ४ वटा पालिकामा चुनाव जित्न सकिने निष्कर्ष निकालेका छन । दुबै पार्टीले आफ्ना संगठन संयन्त्रहरू निकै कमजोर भएका कारण गठबन्धनमा जोड दिएका छन । तर कांग्रेस र माओवादीको अन्तरसंघर्षले उनीहरू गठबन्धन गर्दा झन कमजोर हुने अवस्थामा छन ।

विगतमा संगठन र कार्यकर्ता हुँदा पनि इमान्दार नेता नभएका कारण नतिजामा कमजोर देखिएको एमाले पछिल्लो समयमा केही सधारको बाटोमा देखिएको छ । यद्यपी सांगठनिक अराजकताका कारण एमालेको सुधारमा ब्रेक लाग्न सक्ने अनुमानहरू पनि भएका छन । जिल्लाको नेतृत्व संगठन र संरचनाप्रति भन्दा पनि निकटहरूप्रतिमात्र उत्तरदायी भएको गुनासोहरू सुनिन थालेका छन ।

तर विकासका काममा एमाले नेता केशव पाण्डेले देखाएको सक्रियताले भने एमालेको बृत्तमा फरक खालको सञ्चार भएको छ । पछिल्लो चार वर्षमा नुवाकोटका जनताले अनुभुति गर्न सक्नेगरी विकासका कामहरू भएका छन । काममै आधारमा जनताले मूल्यांकन गर्ने अवस्था हुँदा जिल्लाको १२ वटै पालिकामा जित्न सक्छौँ भन्ने एमालेको दाबी रहेको देखिन्छ ।

कांग्रेसभित्र कुटाकुटदेखि कत्लेआमसम्म 

कांग्रेस सभापति रमेश महतले पार्टीभित्रकै अर्को समूहले दाबी गरेका वडा र पालिका माओवादी र समाजवादीलाई दिने रणनीति बनाएका छन । उनले नेपाली कांग्रेस नुवाकोट पूर्ण रूपमा कब्जा लिने प्रयत्नस्वरूप त्यस्तो गर्न लागेको नुवाकोट कांग्रेसकै नेताहरू बताउँछन ।

महत आफूसँग झिनो मतान्तरमा जिल्ला सभापतिमा पराजित भएका डा केदारनरसिंह केसी समूहलाई कत्लेआम नै गर्ने पक्षमा देखिएका छन । उनले जिम्मेवारी बाँडफाँड गर्नेदेखि महत्वपूर्ण छलफल गर्ने कुरामा उक्त समूहलाई नजरअन्दाज गर्दै आएका छन । विगतमा कांग्रेसको कोइराला समूहमा रहेका महत अब नुवाकोटमा बहादुरसिंह लामाको साथमा आफ्नै विशिष्ट गुट निर्माणमा सक्रिय छन ।

कतिसम्म भने दुई समूहका नेता कार्यकर्ताहरू वडाको टिकट सिफारिसकै क्रममा केही ठाउँमा कुटाकुटमै उत्रिएका थिए । कांग्रेसभित्र यसपटक राम्रोलाई भन्दा हाम्रोलाई टिकट दिने अवस्था रहेको स्वयं कांग्रेसका नेताहरू बताउँछन त्यस्तो अवस्थामा अर्को समूहले जिल्लाका सबै पालिका र वडामा समानान्तर रूपमा उम्मेदवार उभ्याउने सम्भावना पनि उत्तिकै छ । त्यसो गर्दा पनि केही पालिकामा असन्तुष्ट समूहले चुनाव जित्ने देखिन्छ ।

बिगतमा द्धन्द्धको नाममा आफ्नै घरको अन्न र पैसा समेत लुटेर घरमा बस्न नदिएर लखेटेको कुरा सम्झिनुपर्ने भन्दै केही कांग्रेस नेताले इन्द्रेको बाउँ चन्द्रेले भने पनि रूख बाहेक अन्त भोट हालिन्न भन्दै सार्वजिनक रूपमै टिप्पणी समेत गरिरहेका छन । यसले कांग्रेसभित्रको कमजोरी छताछुल्ल बनाएको छ । यद्यपी महत समूहको केसी समूहलाई कत्लेआम गर्ने नीति टिकट वितरणमा देखिए १२ वटै पालिकामा दोहोरो उम्मेदवारी पर्ने देखिन्छ । मतदाताको स्तरमा पुग्दा नुवाकोटमा महत समूह भन्दा केसी समूह बढी लोकप्रिय रहेको छ ।

माओवादीमा अस्तित्वको लडाइँमा खतिवडा समूह

यस्तै नेकपा माओवादीभित्रको अन्तरसंघर्षको कुरा यसअघि नै मिडियामा पनि आइसकेको छ । नुवाकोटमा हितबहादुर तामाङ र हिरानाथ खतिवडाको समूहकोबीचमा एकले अर्कोलाई सिध्याउने गरी अन्तरसंघर्ष चलिरहेको छ । माओवादीले पनि खतिवडा समूहलाई कमजार पार्नेगरी काम गर्दैछ ।

हितबहादुर तामाङले आफ्ना बिरोधीहरूलाई यसअघि देखि ठीक पार्न खोजेको भन्दै माओवादीका कार्यकर्ताले सामाजिक सञ्जालमै चर्को असन्तुष्टि जनाएका थिए ।  गत स्थानीय निर्वाचनमा दुई वटा पालिकामा पहिलो भएको माओवादी एउटामा दोस्रो भएको थियो ।

खतिवडा समूहले आफ्नो अस्तित्व रक्षाकै लागि संघर्ष गर्नुपरेकाले उनीहरूले स्वतन्त्र उम्मेदवार उठाउने सम्भावना पनि उत्तिकै रहेको छ । पार्टीको जिम्मेवारी खतिवडा समूह हेपिएको छ भने विगतदेखि नै अवसरहरूबाट पनि बञ्जित हुँदै आएको छ । माओवादीको यद्ध लडेर आएका भन्दा बाहिर पसेर तरमार्नेहरूले बढी अवसर पाएको भन्दै चर्को असन्तुष्टि छ ।

माओवादीले यसअघि जितेको दुईवटा पालिका मध्ये ककनीमा नेतृत्व असफल भएको उनीहरूले नै प्रमाणित गरेका छन । वर्तमान गाउँपालिका प्रमुख मानबहादुर लामाले फेरि उम्मेदवार हुने आकांक्षा गर्दा आधा कममत मात्र ल्याएर पराजित भएका छन । त्यो उनको कामको मूल्यांकन पनि हो । उता पञ्चकन्या गाउँपालिकाको नेतृत्व बृद्भाभत्ता चोर समात्न नसकेर आफैँ शंकाको घेरमा परेको छ । माओवादीको नेतृत्व नै पालिकामा भएपछि धेरैले मुल नेतृत्वमाथि प्रश्न उठाइरहेका छन ।

तालमेलको फाइदा एमालेले पाउने 

कांग्रेस र माओवादी दुबै दुई चिरा बनेका कारण उनीहरूको बीचमा चुनावी तालमेल भए त्यसको फाइदा एमालेले उठाउने देखिन्छ । कांग्रेस र माओवादीबीचको तालमेल नेताहरूले स्वीकार गरे पनि मतदाताले स्वीकार गरेका छैनन् । यो २०७४ को चुनावमै देखिएको कुरा हो । माओवादीको घोषित वर्गशत्रु नै कांग्रेस भएका कारण उनीहरूले हात काटेपनि माओवादीलाई भोट नदिने चेतावनी दिइ पनि रहेका छन ।

कांग्रेसकै पूर्वसभापति जगदिश्वरनरसिंह केसीले त पहिला विधान परिवर्तन गरेर माओवादीलाई खुला चुनौति नै दिएका थिए । दुबै दलको अन्तरसंघर्ष धेरै भएका कारण एमालेले आफ्नो केही असन्तुष्टिको व्यवस्थापन गर्दा नतिजा आफ्नो पक्षमा पार्न सक्ने आंकलन गर्न सकिन्छ । एमालेले पछिल्लो समय संगठन सुदृिढिकरणको काम व्यापक गरेको छ । नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य बौद्धिक नेता बलराम आचार्य २०७४ को स्थानीय निर्वाचनमै कांग्रेस र माओवादीको गठबन्धन अस्वीकृत भैसकेका कारण जनताले अहिले अब कहिल्यै गठबन्धन नहुने गरी पाठ सिकाउने बताउँछन । जनता र राष्टलाइ केन्द्रमा राखेर काम गर्ने एकमात्र पार्टी एमाले भएका कारण तीनका उम्मेदवार स्वत जनताको रोजाइमा पर्ने उनको बुझाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०८:४६