२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

पृथ्वीसुब्बा र खगराजको टकरावको प्रभावः पोखराको मेयरका आकांक्षी सबैको नाम केन्द्रमा

७ वैशाख, पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा पठाएको छ । मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम गत शुक्रबार महानगर कमिटीले जिल्लामा पठाएको थियो । जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको थियो । बुधबार प्रदेश कमिटीले सबै नाम केन्द्रमा पठाएको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

पोखराको मेयरका लागि प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेशका उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डाीले दावी गरेका छन् ।

उपमेयरमा वडाध्यक्षहरु शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण सहमति जुट्न सकेको थिएन ।

उम्मेदवारीका दाबी गर्नेको बीचमा सुरूमा मतदान नै गराएर छनौट गर्ने तयारी गरेको भए पनि पछि रहर गर्ने सबैको नाम महानगर कमिटीबाट सिफारिस भएको थियो । दुइ नेताको टकरावका कारण जिल्ला र प्रदेश कमिटीले पनि आफ्नो क्षमता प्रस्तुत गर्न सकेन र सबै नाम सीधै केन्द्रमा पठाएको छ । एमालेले भने तीन जनाको नाममात्र सिफारिस गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २१:३८