२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

उम्मेदवार हुन पाउने भए यी ठेकेदार, ४० मध्ये नुवाकोटकै ५ पालिका प्रमुख ठेकेदार (सूचीसहित)


-निराजन आत्रेय

७ वैशाख, काठमाडाैँ । सर्वोच्च अदालतले ठेक्का–पट्टमा संलग्न व्यक्ति (ठेकेदार) आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

निर्माण व्यवसायी यादव श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्तिलाई निर्वाचनमा सहभागी (उम्मेदवार) हुनबाट नरोक्न भनेको हो । अदालतको सो आदेशसँगै देशभर २३ वटा गाउँपालिका अध्यक्ष र १७ नगरपालिका प्रमुखलाई पुन उम्मेदवार हुने बाटो खुलेको छ ।

विगतमा स्थानीय निकायको निर्वाचनमा उठ्दा अनियमितता भएको व्यापक उजुरी अख्तियारमा परेपछि राज्यको सम्पत्ति दोहन नहोस् भनेर निर्वाचन आयोगले आचारसंहिता मार्फत् ठेकेदारलाई उम्मेदवार हुनबाट रोक लगाएको थियो । तर, सर्वोच्चले योग्यता पुगेका र प्रचलित कानुनमा तोकिए अनुसार कसैलाई पनि काखा र पाखा नगर्न ठेकेदारहरुलाई सहज हुने गरी आदेश जारी गरेको छ ।

आदेशमा भनिएको छ–कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणापत्रको देहाय (ठ) बमोजिम गरिएको स्वघोषणाका आधारमा कसैलाई पनि वैशाख ३० मा हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नरोक्नू ।’

यी हुन नगरपालिकाको प्रमुखमा निर्वाचित १७ निर्माण व्यवसायी

सुजाता कन्स्ट्रक्सनका भरतबहादुर केसी भीमेश्वर नगरपालिका दोलखा, यती विल्डर्सका गोर्ख बहादुर केसी ‘सन्देश’ आठविसकोट नगरपालिका रुकुम पश्चिम, राजेन्द्र निर्माण सेवाका भीमबहादुर साउद परशुराम नगरपालिका डडेल्धुरा, सनम कन्स्ट्रक्सनका मुरारी प्रसाद खतिवडा खाँदबारी नगरपालिका संखुवासभा रहेका छन ।

यस्तै कन्दना कन्स्ट्रक्सनका विदुर लिङ्थेप मादी नगरपालिका संखुवासभा, सानु कन्स्ट्रक्सनका किरण सिंह कपिलबस्तु नगरपालिका, अधिकारी निर्माण सेवाका नेत्रराज अधिकारी शिवराज नगरपालिका कपिलबस्तु, तिरुपति निर्माण सेवाका भीमबहादुर थापा सुनवल नगरपालिका नवलपरासी, भेरीगंगा नगरपालिकाका सुर्खेतका भुपेन्द्रबहादुर चन्द र सुन्दर हरैंचा नगरपालिका मोरङका शिवप्रसाद ढकाल नगरप्रमुख भएर पनि ठेकेदारको काम गरिरहेका छन् ।

यस्तै रतुवामाई नगरपालिका मोरङका रविन राई, आशिष निर्माण सेवाका पदमबहादुर गिरी बुढीनन्दा नगरपालिका बाजुरा, मालिकार्जुन निर्माण सेवाका अमरसिंह धामी शैलशिखर नगरपालिका दार्चुला, पण्डित निर्माण सेवाका सञ्जु पण्डित विदुर नगरपालिका नुवाकोट र इन्द्रायणी निर्माण सेवाका लबशेर विष्ट थाहा नगरपालिका मकवानपुरलाई स्थानीय तहमा उम्मेदवार हुन सर्वाेच्चले बाटो खुलाइदिएको छ । दिपायल सिलगढी नगरपालिकाका मेयर शिवराज खड्का र शिखर कन्स्ट्रक्सनका खड्ग नेपाली थाहा नगरपालिका मकवानपुरलाई पनि उम्मेदवार हुन बाटो खुलेको छ ।

यी हुन २३ ठेकेदार गाउँपालिका अध्यक्ष

यस्तै, सन्चाद कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सन्तोष केसी छत्रेश्वरी गाउँपालिका सल्यान, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, पीएण्डके निर्माण सेवाका प्रेमबहादुर तामाङ खाँडादेवी गाउँपालिका रामेछाप, रामकृष्ण निर्माण सेवाका यमबहादुर मल्ला, जलजला गाउँपालिका पर्वत, साईनो कन्स्ट्रक्सनका बलबहादुर गुरुङ आलिताल गाउँपालिका डडेल्धुरा रहेका छन ।

यस्तै अरुण बरुण सेवाका पाशाङ नुर्वु शेर्पा चिचिला गाउँपालिका संखुवासभा, एसएसएस निर्माण सेवाका श्रवण जिसी सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक, ब्लोन निर्माण सेवाका हिमल लामा भीमफेदी गाउँपालिका मकवानपुर जोगामाई निर्माण सेवाका जितबहादुर राई माई जोगमाई गाउँपालिका इलाम र आरके निर्माण सेवाका रामकुमार श्रेष्ठ फाकफोकथुम गाउँपालिका इलामलाई उम्मेदवार बन्न बाटो खुलेको छ ।

यस्तै, महेश निर्माण सेवाका बालकृष्ण आचार्य मालारानी गाउँपालिका अर्घाखाँची, केराबारी गाउँपालिकाका रोहित कार्की, पूर्ण निर्माण सेवा जगन्नाथ गाउँपालिका बाजुराका अध्यक्ष कालीबहादुर शाही, गौमुल गाउँपालिका बाजुराका अध्यक्ष हरिबहादुर रोकाया, समरी कन्स्ट्रक्सन म्यागङ गाउँपालिका नुवाकोटका अध्यक्ष आशा तामाङ रहेका छन ।

त्यस्तै याङरिला कन्स्ट्रक्सनका योविन्द्रसिंह तामाङ दुप्चेश्वर गाउँपालिकाका नुवाकोट, गुलीभर कन्स्ट्रक्सनका धु्रव श्रेष्ठ लिखु गाउँ पालिका नुवाकोट, टीएण्डबी कन्स्ट्रक्सनका तेजबहादुर तामाङ पञ्चकन्या गाउँपालिका नुवाकोट र जिम्बा कन्स्ट्रक्सनका कान्छालाल जिम्बा महाभारत गाउँपालिका काभ्रेलाइ स्थानीय तहको निर्वाचनमा भाग लिन बाटो खुल्ला भएको छ ।

एकता कन्स्ट्रक्सनका इश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिका दोलखा, हिमाली देउढुंगा निर्माण सेवाका युधिष्ठिर खड्का विगु गाउँपालिका दोलखा, तुलसी निर्माण सेवाका गजेन्द्रबहादुर खड्का रौतामाई गाउँपालिका उदयपुर र ठेकेदार इन्द्रबहादुर भण्डारी केदारस्यूँ गाउँपालिका बझाङलाई पनि आगामी निर्वाचनमा स्थानीय तहमा आफुले ठेक्का प्रकृयामा भाग लिएको बाहेकको स्थानीय तहमा उम्मेदवार हुन बाटो खुल्ला भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २१:०६

https://srdb.com.np/