२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

दार्चुलामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल, समाजवादीलाई केही वडा सदस्यमात्रै


-बिरादत्त भट्ट

७ चैत, दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुंग्याएका छन् । ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएकाे हाे ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए । कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएकाे छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ । २०७४ काे निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १०:२७