२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सबैबाट अपमानित महशुष गरेका माधव नेपालले खोजेको सम्मान कहाँ होला ?


६ वैशाख, काठमाडाैँ । ‘…मेरो अपमान भो’ प्रचण्डसँग मिलेर एमाले फुटाउने तानाबाना बुन्दै गर्दा माधव नेपालले अपमान महसूस गरेका अन्तर्वार्ता र भाषणहरू खुबै सुनिन्थे । ‘मेरो अपमान भो’ अहिले माधव नेपाललाई चिनाउने एउटा थेगोको रूपमा आम मानिसले प्रयोग गर्दछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘क्यारिकेचर’ गरेरै ‘मेरो अपमान भो’ भन्ने गरेका छन ।

एमालेमा अपमान भो भन्दै झण्डै आधा शताब्दी आफैंले लगानी गरेको पार्टी छोडेर हिडेका माधव नेपाललाई कहीं गए पनि चैन छैन । प्रचण्डले मान गरिदिने आशामा नेपाल पुस ५ पछाडि नेकपाको स्वघाषित अध्यक्ष बने । नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई सडकबाट कारबाही गरेर पेरिस डाँडामा अर्का अध्यक्ष प्रचण्डसँगै माधव नेपाल पनि अध्यक्ष बने । त्यसेबला उनलाई मान पाएको अनुभूति भएको थियो ।

अदालतले माधव नेपालको त्यो मान धेरै दिन टिक्न दिएन । पेरिस डाँडाँमाको नेम प्लेटमा ‘माधव नेपाल अध्यक्ष, बाहिर’ लेखेर बाहिरिएका माधव नेपाललाई २३ फागुन २०७७ पछि फेरि त्यहाँ भित्रिने स्थिति बनेन । अर्थात् माधव नेपाललाई एमाले र माओवादीको एकता भंग गरिदिएर अदालतले पनि ‘अपमान’ गरिदियो ।

अदालतले माधव नेपालको अपमान गरे पनि प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले माधव नेपाललाई क्षतिपूर्ती स्वरूप मान गर्ने क्रम जारी राखे । त्यसका लागि प्रचण्ड र देउवा दुवै नेपाललाई भेट्न उनको निवास कोटेश्वर जाने गर्दथे । सधैं मानमनितो गरेर राख्छौं अहिलेसम्मको अपमानको क्षतीपूर्तीको भरणपोषण गरिदिन्छौं भनेपछि नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालतमा लाइन लागेर हस्ताक्षर गरे । फलत केपी शर्मा ओलीको सरकार विस्थापित भएर परमादेशको बलमा देउवा प्रधानमन्त्री नियुक्त भए । त्यसको केही समयमै माधव नेपाललाई अपमान नहोस भनेर २० प्रतिशतले पार्टी फुटाउन मिल्ने अध्यादेश सरकारले जारी ग¥यो ।

अध्यादेशले मान गरेपछि नेपालले एमाले विभाजन गरे र नेकपा समाजवादीको अध्यक्ष भएर अपमानको पुरताल गरेको अनुभूति गरे । तर समय एकनास रहेन । नयाँ पार्टी बनाएर सरकारमा हिस्सेदार भएको नौ महिना पनि नपुगी फेरि माधव नेपाललाई अपमान भएछ । त्यो कुरा उहाँले आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा उल्लेख गरे । ‘गठबन्धनमा मलाइ अपमान भयो तर म अपमान सहेर बस्ने मान्छे होइन ।’ माधव नेपालको यो भनाइ आउनु भन्दा केही समय अघि गठबन्धनको प्रमुख घटक माओवादीको बैठकमा ‘माधव नेपाल घाँडो’ भएको प्रचण्डको ब्रिफिङ थियो । शायद नेपाललाई गठबन्धनका बैठकमा गरिने व्यवहार पनि त्यस्तै थियो होला । जसले गर्दा उनले अपमान भएको महसुष गरे ।

यस अघि देखि नै उनले भन्ने गर्दथिए ‘माधव नेपाल अपमान सहेर बस्ने मान्छे होइन ।’ आज पनि त्यसै भनेका छन । तर अब माधव नेपाल ‘मान’ खोज्न कहाँ जालान ? एमालेसँग फर्किने ठाउँ छैन, गठबन्धनले मान गरिदिएन । एक्लै चुनावी मैदानमा जाँउ हैसियत छैन । चुनावी मोर्चामा फेरी जनताले अपमान गर्नेछन् । त्यसबेला माधव नेपाल कहाँ जालान ? धेरैले भन्ने गर्दछन्: नेताहरूले गरेको ‘अपमान’ त उहाँले दुखसुख पचाउनुहोला तर चुनावमा जनताले गरेको अपमान पछि उहाँ के गर्लान ? अपमान सहेर बस्न नसक्ने मान्छे माधव नेपाल मानको खोजीमा कहाँ जालान ? उनको आनीबानी राम्रोसँग बुझेका नेताहरू भन्छन् ‘चुनावमा जनताले गरेको अपमान सहन नसकेर उनी सायद काशी जानुहोला ।’

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार २२:०६

https://srdb.com.np/