१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चुनावका बेला फेक न्यूजको कारखाना चल्नसक्छ, सचेत हुनुहोस्ः अध्यक्ष बस्नेत

६ वैशाख, काठमाडाैँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने  अध्यक्ष बस्नेतको सुझाव दियो ।

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको सहकार्यमा मंगलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताए ।

चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं, बस्नेतले सञ्चारकर्मीहरुलाई सुझाव दिए ।

उनले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गरे । आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले रेडिया, टिभी, छापा, अनलाईन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारवाही हुने समेत उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १९:४८