१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सिट भागवण्डाकाे अन्तिम कसरतमा गठबन्धन, भाग नमिले चुनाव सार्ने सम्भावना

६ वैशाख, काठमाडौँ । स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेकाे छैन ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ ।

विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारकाे बैठक अनिर्णित बनेकाे थियाे ।
कांग्रेसले काठमाडाैं, ललितपुर र विराटनगरसहित पाेखरामा पनि दाबी गरेकाे छ । तर, एकीकृत समाजवादीले पाेखरामा दाबी गरिरहेकाे छ ।

पाेखरामा तत्कालीन एमालेले जितेकाे थियाे । एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पाेखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।

माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेकाे छ ।

सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।

आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । भागवण्डा नमिले चुनाव सर्ने सम्भावना रहेकाे छ । साेमबार मात्र गृहमन्त्री बालकृष्ण खाँडले विप्लव नेतृत्वको नेकपालाई पनि चुनावमा सहभागी गराउनुपर्ने भन्दै यसकाे संकेत गरेका छन । सरकारले निर्वाचन सार्ने चलखेल गरेपछि प्राप्त सूचनाकाे आधारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साेमबारकाे सचिवालय बैठकबाट चुनाव सार्ने षडयन्त्र भए प्रतिवाद गर्ने निर्णय गरेकाे छ । साथै एमालेले त्यसका लागि तयार रहन कार्यकर्ताकाे बीचमा अपिल समेत गरेकाे छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०९:३१