१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेको बागमती प्रदेशले एक उम्मेदवार दुई पत्रकार खटाउने, यसरी हुँदैछ प्रचारको व्यवस्थापन

५ वैशाख, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले १३ वटै जिल्लाको प्रचारको संयोजन गर्ने भएको छ। आइतबार बागमती प्रदेश कमिटीको कार्यालय च्यासल ललितपुरमा प्रचार भेला नै गरेर एमाले बागमती प्रदेशले प्रचारको रणनीति र कार्यनीति तय गरेको छ ।

एमाले बागमती प्रदेशको प्रचार विभागले आयोजना गरेको प्रचार भेलामा उपस्थित जिल्लाका प्रचार विभाग प्रमुख, प्रेस चौतारीका सम्बन्धित कमिटीका अध्यक्ष एवं प्रतिनिधि र एमालेप्रति आस्थावान पत्रकारहरूको सुझावलाई समेत एकीकृत गरेर प्रचारलाई व्यस्थित बनाउन लागिएकको विभागका प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार बागमती प्रदेश भित्रका ११९ वटा पालिकाबाटै त्यहाँको गतिबिधि संप्रेषण गर्ने गरी संयन्त्रको विकास गरिने भएको छ । त्यसका लागि वैशाख ८ गते भित्र प्रदेशभित्रका १३ वटै जिल्लामा जिल्लास्तरीय प्रचार भेला गरेर रणनीति कार्यान्वय गर्दै अघि बढ्ने बर्तौलाले बताए । उनले पालिका स्तरमै पनि प्रचारको डेस्क नै सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

बागमती प्रदेशभित्रका ११९ पालिकामा प्रेस चौतारीमा सम्बद्ध रहेका पत्रकारहरू मध्येबाट हरेक पालिकामा दुई जनालाई तोकेर जिम्मेवारी दिएर प्रचारको संयोजन गरिने उनले बताए । बागमतीले एमाले नेतृत्वको सरकारले गरेका काम, चुनावमा उम्मेदवारले बोक्ने पार्टीको नीतिसहितको विषय वस्तु समेटेर बागमती प्रदेश बुलेटिन प्रकाशनको अन्तिम तयारी समेत गरेको छ । बर्तौलाका अनुसार प्रदेशको प्रचार विभागले एउटा डेस्क नै स्थापना गरेर सूचनाहरूको सम्प्रेषण गर्नेछ ।

मुख्य रूपमा अहिले प्रचारको संयन्त्रले दुई काम गर्ने बर्तौलाले बताए । पहिलो पार्टीले गरेका कामहरू जनताको बीचमा पुर्याउने र दोस्रो उम्मेदवारहरूको प्रोफाइल र चुनावी गतिबिधिको एकीकृत संप्रेषण गरिने छ । आइतबारको प्रचार भेलमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारी, बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल लगायतले अहिले गुनासो र समिक्षाको समय नभएकाले एमालेका उम्मेदवारहरूको पक्षमा जन लहर सिर्जना गर्ने काममा लाग्न अपिल गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार २३:३२