१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटको शिवपुरीमा एमाले उम्मेदवार सर्वसम्मत, अध्यक्षमा विष्ट र उपाध्यक्षमा प्रजापति

-प्रशान्तजंग पाण्डे

५ वैशाख, नुवाकोट । नुवाकोटको शिवपुरीमा नेकपा एमालेले सर्वसम्मत रूपमा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार दिँउसभरी बसेको एमाले शिवपुरीको बैठकले पालिकाको प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । एमालेको निर्णय अनुसार शिवपुरी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र विष्ट र उपाध्यक्षमा मंगलमाया प्रजापति उम्मेदवार बन्नेछन ।

यसअघि एमालेले जित्ने भनेर भनिएको उक्त भूगोल अध्यक्षका उम्मेदवारका कारण पराजित भएको थियो । अघिल्लो पटक टिकट हत्याएर पनि चुनाव जित्न नसकेका पदम उप्रेती अहिले नेकपा एकीकृत समाजवादीमा गएका छन । नेकपा चलेको विवाददेखि नै एमालेविरूद्धमा लागेका उप्रेतीहरूले कित्ता क्लियर गरेपछि शिवपुरीमा एमालेको संगठन २०७४ सालको भन्दा धेरै नै मजबुद अवस्थामा पुगेको गाउँकमिटीका एक नेताले बताए ।

उनले पाँच दलीय गठबन्धन कायम नै भए पनि शिवपुरीमा एमाले विजयी हुने बताए । उम्मेदवारी छनाैट सर्वसम्मत भएको र वडाका उम्मेदवारहरूको पनि भोलिबाट  छलफल गरेर सर्वसम्मत रूपमा टुंग्याउने एमाले नेता मिलन लामाले जानकारी दिए । एमालेले यसअघि ककनी गाउँपालिकाको अध्यक्षका काशिराज अधिकारी र उपाध्यक्षमा लजिता लामा सुनितालाई सर्वसम्मत चयन गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार २१:५२