२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

परमादेशको प्रभावः सर्वोच्चलाई थप कम्फर्टेवल बनाउन मुख्यरजिष्ट्रार कुँबरमाथि कारबाहीको तयारी


-निराजन आत्रेय

२८ चैत, काठमाडौँ । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्यरजिष्ट्रार लालबहादुर कुँबरबीच ‘नोकझोंक’ शुरु भएको छ । कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्बाट २६ फागुनमा कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरेपछि चुलिएको टसल उच्च विन्दुमा पुगेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको आन्दोलनमा आफूहरुलाई साथ नदिएको झोक कार्कीले मुख्य रजिष्ट्रार कुँवरलाई कारबाही स्वरुप न्यायाधीश बनाएर गर्न खोजेका हुन् । तर, कुँवरले उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस गरे मात्रै जाने अडान लिएपछि कार्की आफै अप्ठ्यारोमा परेका छन् । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरु उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा मात्रै सिफारिस गरिएपछि उनले अस्वीकार गर्दै आएका छन् ।

न्यायाधीश नबन्ने अडानकै बीच मुख्य रजिष्ट्रार कुँवर लामो समयदेखि विदामा बसे । साथै मुख्य रजिष्ट्रार कुँवरले आफू उच्च अदालतको न्यायाधीशमा नजाने भन्दै कामु प्रधानन्यायाधीशलाई निवेदन दिए । सर्वोच्चमा विदा सकेर केही दिनअघिदेखि मुख्य रजिष्ट्रारको काममा फर्किएका कुँवरलाई दुई दिनअघि कामु प्रधानन्यायाधीशले उच्च अदालत पाटनमा तीन दिनभित्र हाजिर हुन निर्देशन दिएका छन् । आफ्नो निर्देशन नमाने आफूले एक्सन लिने कार्कीले कुँवरलाई सन्देश पठाएका छन् ।

‘उच्च अदालतको न्यायाधीश सिफारिस पछि कामुप्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार सामान्य बोलचाल समेत बन्द जस्तै छ, सर्वोच्चका एक कर्मचारीले भने, उहाँले आफू अपमानित भएर उच्च अदालतको न्यायाधीशमा नजाने अडान लिनुभएको छ ।’

यता कामु प्रधानन्यायाधीश कार्की भने सर्वोच्च अदालतमा आफू अनुकुल काम गर्न मुख्य रजिष्ट्रारकै कारण बाधा हुने भएपछि न्याय परिषद् बैठक बोलाएर कारबाहीको तयारीमा जुटेको सर्वोच्च स्रोतले जनायो । प्रधानन्यायाधशि चोलेन्द्र शमसेर जबराले नियुक्त गरेको मुख्य रजिष्ट्रारसँग आफू काम गर्न नसक्ने उनले आफू निकटका न्यायाधीशहरुसँग भन्ने गरेको स्रोतले बतायो ।

मुख्य रजिष्ट्रार कुँवरले उच्च अदालतमा न्यायाधीश भएर जान नमानेपछि कामुप्रधानन्यायाधीश कार्की तनाबमा रहेको सर्वोच्चका एक कर्मचारीले बताए । मुख्य रजिष्ट्रार कुँवर विदा सकेर सर्वोच्चमा हाजिर भएपछि कामु प्रधानन्यायाधीश कार्की निकै तनाबमा हुनुहुन्छ, ति कर्मचारीले भने ।

कार्कीले आफू मुख्य रजिष्ट्रार पद न्यायाधीशको लिस्नो बनाउने पक्षमा आफू कहिल्यै नरहेको बताउने गरेका छन् । यसअघि पनि सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकबाट उच्च अदालतको मुख्य न्यायाधीश बनाउँदा ’नोट अफ डिसेन्ट‘ लेखेर असहमति जनाएका थिए ।

मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउन हुँदैन भन्ने पक्षमा रहदै आएका कामुप्रधानन्यायाधीश कार्कीले यो पटक आफ्नो नेतृत्वमा न्याय परिषद्को बैठकबाट कुँवरलाई उच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि १ फागुनमा संसद सचिवालयमा महाअभियोग दर्तासँगै निलम्बनमा परेपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए ।

कामु प्रधानन्यायाधीश भएसँगै उनले न्यायपरिषद् बैठक राखेर न्यायाधीश नियुक्ति र सिफारिस गरेका थिए । सर्वोच्च अदालतमा आफू नेतृत्वमा भएको न्यायाधीशहरुको हडतालमा कर्मचारीहरु तटस्थ बनेपछि आफूहरुलाई सहयोग नगरेको भन्दै मुख्य रजिष्ट्रार कुँवरलाई कामु प्रधानन्यायधाीश कार्कीले कारवाही स्वरुप न्यायाधीश नियुक्त गरेका हुन् ।

पदीय मर्यादाअनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार उच्च अदालतका न्यायाधीशभन्दा माथि अर्थात मुख्य न्यायाधीश सरहको पद हो । यसअघि न्यायसेवाबाट मुख्य रजिष्ट्रार बनेका नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त भएका थिए ।

सोही पदमा रहेका दुई जनालाई मुख्य न्यायाधीशमा नियुक्ति गर्दा आफूलाई भने न्यायाधीशमा मात्रै नियुक्ति गरेको भन्दै मुख्य रजिष्ट्रार कुँवर असन्तुष्ट भएका हुन् । कुँवर उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरे भने स्वीकार गर्ने पक्षमा छन् । तर, उच्च अदालतको न्यायाधीश मात्रै भएर नजाने मुडमा छन् ।

कार्कीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारबाट हटाउन खोज्नुमा मुख्य कारण ८ कात्तिकदेखि प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरु र कानुन व्यवसायीहरुले गरेको आन्दोलनमा साथ नदिनु प्रमुख कारण हो । ४० दिनसम्म प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनमा प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशबीच टसल बढेको थियो ।

मुख्य रजिष्ट्रारसहित सर्वोच्चका कर्मचारीहरुले साथ दिएका कारण प्रधानन्यायाधीश राणाले एकल इजलासमा मुद्दा सुनुवाइ गर्न थालेपछि न्यायाधीशहरु अप्ठ्यारोमा परेका थिए । प्रधानन्यायाधीश राणा विवादित बन्दा पनि उनलाई मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायतका कर्मचारीले साथ दिएको भन्दै कामु प्रधानन्यायाधीश कार्की चिढिएका थिए । निलम्बित प्रधानन्यायाधीशले नियुक्त गरेको मुख्य रजिष्ट्रार भएका कारण काम गर्न नसकिने ठानेर कार्कीले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ११:२७

https://srdb.com.np/