११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

नेकपा प्रदेश ५ को अध्यक्षमा राना र पुन सिफारिस

३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा पूर्व एमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगरको नाम सिफारिस भएको छ । प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिवलाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन । गणेशमान पुन पूर्वमन्त्री तथा तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर हुन् । कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् ।

जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल र रुपन्देहीमा गोपाल भट्टराई अध्यक्ष सिफारिस भएका छन् । त्यस्तै पूर्व एमालेले अध्यक्ष पाएको गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल सिफारिस भएका छन् ।

पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियमा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १६:०१