२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विजेपीको शुभकामनापछि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिँदै गठबन्धन


२१ चैत, काठमाडाैँ । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने भएको छ ।

भारत भ्रमणको क्रममा भारतीय जनता पार्टीले गठबन्धनका लागि शुभकामना दिएकाले तालमेल सफल पार्न केन्द्रबाटै केही नयाँ मोडालिटीमा सहमति गरेर स्थानीय स्तरमा परिपत्र गर्ने तयारी पाँच दलले गरेको छ । देउवाले कुटनीतिक मर्यादाविपरित विजेपीको मुख्यालय गएको भन्दै नेपालमा आलोचना भइरहेको छ । यहीक्रममा आइबार साँझ स्वदेश फर्कने क्रममा पराराष्ट्रमन्त्री नारायण खड्काले देउवा कांग्रेस सभापतिको हैसियतामा विजेपीको मुख्यालय पुगेको बताएका थिए ।

गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय नभए पनि समय तय हुन बाँकी रहेको बताइन् । १७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ ।

तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । डा. शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ । कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षदेखि निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादी पनि त्यति सन्तुष्ट छैन । नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ११:५८

https://srdb.com.np/