ग्रीन भेन्चर्सको आईपीओ प्रि–अलटमेन्ट आज हुँदै, बाँडफाँड कहिले हुन्छ ?
१५ चैत, काठमाडाैँ । ग्रीन भेन्चर्सले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज अर्थात मंगलबार प्रि–अलटमेन्ट हुँदैछ । कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओकाे मंगलबार प्रि–अलटमेन्ट हुन लागेको कम्पनीको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
क्यापिटलले कम्पनीको आईपीओ यसै साता बाँडफाँड हुने जनाएको छ । ग्रीन भेन्चर्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा १ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।
प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १५:२५












