२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

करिष्माले एक महिना नकुर्ने भोलि नै एमाले प्रवेश गर्ने निर्णय


७ चैत, काठमाडाैँ । अभिनेत्री करिस्मा मानन्धरले एमाले प्रवेश गर्न एक महिना नकुर्ने भएकी छिन । यसअघि नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको थियो । तर एक महिनाको बीचमा धेरै राजनीतिक गतिबिधिमा सहभागी हुन मिल्ने भन्दै उनले भोलिनै एमाले प्रवेश गर्ने निर्णय लिएकी छिन ।

मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेखेकी थिइन् । उनले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गरेकी छिन् । उनी बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग भएकी थिइन् ।

उनले एमालेको नीति तथा कार्यक्रम र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट प्रभावित भएको बताउँदै आएकी छिन । यसअघि चर्चित गायिका कोमल वली पनि एमालेमा प्रवेश गरेर राष्ट्रियसभा सदस्यको रूपमा चार वर्षको कार्यकाल व्यतित गरेकी थिइन । उनी अहिले एमाले केन्द्रीय सदस्य छिन । मानन्धरले राजनीति गर्ने सोच अनुरूपनै आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको आफू निकटकाहरूलाइ बताएकी छिन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २०:५५