१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्धः प्रधानमन्त्री ओली

२७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको,त्यसका लागि आफू १४ बर्ष जेल बसेको,पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभएको छ ।

माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के आमसभा,जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”

“नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।” प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताउनुभएको छ । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले १० बर्षमा नेपालको कायाकल्प गर्न सकिने बताउनुभएको छ । कृषिमा आश्रित जनसंख्यालाई दुईबर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिन भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १२:५७