२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

एक्लिँदै कांग्रेस प्रवेश गरेका बलेफीका अध्यक्ष केदार क्षेत्री, स्वाकीय सचिवले पनि साथ छाडे


२ चैत, सिन्धुपाल्चोक । नेकपा (एमाले) छाडेर नेपाली कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री दिनप्रतिदिन एक्लिँदै गएका छन् । उनका स्वकीय सचिव अमृत थापाले समेत उनको साथ छाडेका छन् । उनले भनेका छन्– बरु स्वकीय सचिव छाड्छु, तर एमाले छाड्दिनँ ।

क्षेत्रीले एमाले छोडेको घोषणा गरेपछि उनकी जेठी श्रीमती नानू अर्यालले समेत सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेकी थिइन् । जेठी श्रीमतीतिरको परिवारलाई गुमराहमा राख्दै कान्छी श्रीमती राखेको विषयले उनीहरुबीच खटपट थियो ।

एमालेको जिल्ला अध्यक्ष नपाएपछि क्षेत्रीले पार्टी छाड्ने घोषणा गरेका थिए । जिल्ला अध्यक्ष भएर ठूलै समूहसहित अर्को पार्टी प्रवेश गर्ने सूचना पाएको भन्दै एमालेका केही नेताले उनीमाथि निगरानी गरिरहेका थिए । पार्टीको महाधिवेशन र जिल्ला अधिवेशनमा उनको भूमिका शंकास्पद भएको एमाले सिन्धुपाल्चोकका एक नेताले बताए ।

क्षेत्रीसँगै कांग्रेस प्रवेश गरेका उनका भाइ कृष्ण क्षेत्रीको कांग्रेससँगको निकटताले धेरैमा शंका उब्जाएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमै कांग्रेस प्रवेश गर्न लागेका कृष्ण क्षेत्री दाइले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाएपछि अडिएका थिए । कांग्रेसले अहिले कृष्ण क्षेत्रीलाई पालिका अध्यक्षको टिकट दिने वचन दिएको बताइएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मङगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सिन्धुपाल्चोक बलेफी गाउँपालिकाबाट नेकपा (एमाले)मा निर्वाचित अध्यक्ष केदार क्षेत्रीलाई नेकाको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउँदै । तस्बिरः रोशन सापकोटा

केदार क्षेत्री धेरै बैंकको कालोसूचीमा रहेका नेता हुन । अघिल्लो चुनावमै बैंकको कालोसूचीमा रहेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै माओवादीले क्षेत्रीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको थियो । तर, चुनावमा अग्नि सापकोटालाई सघाउने शर्तमा मुद्दा नहालेको एक माओवादी नेताले दैनिकीलाइ बताए ।

एमाले छाडेपछि केदार क्षेत्रीलाई माधवकुमार नेपालले नेकपा एस प्रवेश गराउन निकै पहल गरेका थिए । उनी पहिला पनि माधव नेपाल पक्षधर नै थिए । तर, भाइ कृष्ण क्षेत्रीको दबाबमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश नगरे अघिल्लो चुनावमा दिएको खर्च फिर्ता गर्न भाइले दाइलाई दबाब दिएको स्रोतको भनाइ छ ।

अरनिको यातायात र ट्रक कन्टेनरमा सिण्डिकेट लादेर अकुत कमाएको आरोप लागेका क्षेत्री दाजुभाइले सुनकोशी नदीमा क्रसर उद्योग सञ्चालन गरेर अबैध उत्खननको काम समेत गर्दै आएका छन ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १०:३७