१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सरकारी दरिद्रताः गरिबका लागि बनाइएको घरमा मुख्यमन्त्री र प्रदेश प्रमुख

२७ साउन, काठमाडाैँ ।  सहरी गरिब र न्यून आय भएका नागरिकलार्इ बास बस्न दिन निर्माण गरिएको अपार्टमेन्टमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास बनाउने तयारी सरकारले गरेको   अाजको अन्नपूर्ण पोस्टमा राजु बस्कोटाले लेखेका छन । गरिबलार्इ  राख्न निर्माण गरिएको अपार्टमेन्टलाई मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास बनाउने तयारी गरिएको छ।

नागार्जुन नगरपालिकाको इचंगुनारायण जग्गा विकास आयोजना परिसरमा निर्माण गरिएका ६ वटा अपार्टमेन्ट दुई वर्षदेखि प्रयोगबिहीन भएकाले अब प्रदेश प्रमुख र मुख्य मन्त्रीको आवासका रूपमा प्रयोग गर्न लागिएको हो।गत साता प्रधानमन्त्री कार्यालय, गृहसचिव र सहरी विकास मन्त्रालयसहितको टोलीले अपार्टमेन्ट अवलोकन गरी यस विषयमा कार्यायोजना तयार पार्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको अन्नपूर्णले लेखेको छ ।

तस्बीरः राजु बास्कोटा अन्नपूर्ण पोस्ट ।

गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा यो भवनमै बस्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए। उनका अनुसार दुई वर्षदेखि प्रयोगमा नआएको यो भवनका कोठा थोरै परिवर्तन गरी प्रयोग गर्न सकिनेछ। अन्तर्राष्ट्रिय स्तरमा पनि मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको संघीय सरकारले व्यवस्थापन गर्ने प्रचलन रहेको छ। उनले भने, ‘हाम्रोमा पनि प्रदेश प्रमुख र मुख्यमन्त्री आउँदा राख्ने, सुरक्षा दिने तथा उपयुक्त भेटघाट स्थान अभाव रहेकाले यो अपार्टमेन्ट प्रयोग गर्न लागिएको हो।’

सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माका अनुसार सहरी गरिब र न्यून आए भएका व्यक्तिलाई राख्ने भनेर बनाएको भए पनि हालसम्म यो भवनमा बस्ने व्यक्तिको पहिचान भएको छैन। ‘लामो समयसम्म अपार्टमेन्ट खाली राख्दा बिग्रने र त्यसै मर्मत सम्भार गरेर राखिरहनुभन्दा प्रयोग गर्दा नै उपयुक्त हुने ठहर गर्दै यस्तो योजना अगाडि सारिएको हो’, शर्माले अन्नपूर्णसँग भनेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ०८:१९