१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एडिलेड नेपाली विद्यालयका विद्यार्थी सम्मानित, सुहानी राजभण्डारी भइन स्टुडेन्ड अफ द इयर

३० फागुन, एडिलेड । एडिलेड नेपाली विद्यालयले वर्ष २०२१ मा अध्ययन गरेका विद्यार्थीहरुलाई विभिन्न २२ विधामा सम्मान गरेको छ । जसमा यस बर्षको स्टुडेन्ड अफ द इयर सुहानी राजभण्डारी भईन ।

छात्रा सुहानी राजभण्डारीले गत अक्टोवर महिनामा बिभिन्न भाषाका विद्यालयहरुको संस्था एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाद्वारा आयोजित रचनात्मक कलाकृति प्रतियोगितामा प्रथम समेत भएकी थिइन । प्रवासमा हुर्केका बालबालिकाहरुलाई नेपाली भाषाको ज्ञान दिने उद्देश्यले २०१५ बाट एडिलेडमा संचालित बिद्यालयले एक कार्यक्रम विच विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान गरेको हो ।

विद्यालय परिवारको सामूहिक तस्बीर र माथि स्टुडेन्ट अफ द इयर सुहानी राजभण्डारी ।

साउथ अष्ट्रेलिया सरकारको समेतको सहयोगमा स्थानिय स्कटपार्क प्राईमरि स्कुलमा प्रत्येक शनिवार संचालित विद्यालयमा गत वर्ष ९३ जना विद्यार्थीले अध्ययन गरेका थिए | पुरस्कार वितरण कार्यक्रमको संचालन एडिलेड नेपाली समाज अध्यक्ष सुरेन्द्र रेग्मीले संचालन गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थनपन समितिका अध्यक्ष नविन कँडेल, विद्यालयको संस्थापक प्रिन्सिपल तथा नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मन्जु खड्का, पुर्व प्रिन्सिपल दिपा थापा लगायतले पुरस्कार वितरण गरेका थिए । दैनिकीसँग कुरा गर्दै बिद्यालयको प्रिन्सिपल लक्ष्मी आचार्य सापकोटाले गत बर्षबाट विद्यार्थीहरुलाई पुरस्कृत गर्न थालिएको बताउदै उनीहरुलाई अनुशासन, राम्रो हस्त लेखन, नियमित उपस्थिति लगायतको विधामा पुरस्कृत गर्नाले उनीहरुमा नेपाली विद्यालय र कक्षाप्रति आकर्षण बढ्दै गएका कारणले २०२१ मा ९३ जना बिद्यार्थीहुनुको एउटा कारण पनि रहेको बताइन ।

उनले नेपाली समुदायमा भाषा प्रतिको माया तथा नयाँ पुस्तामा नेपाली संस्कृति र संस्कार बारे जानकारी गराउने चाहनाले दिन प्रतिदिन विद्यालय प्रति आकर्षण बढेको बताइन । सापकोटाले स्वयंसेवी शिक्षक शिक्षिकाहरुले बालबालिकाहरुलाई पढाउन र नेपाली भाषा प्रति आकर्षण गर्न हरसम्भव प्रयास गरेको बताइन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०७:४२