२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

छैठौं राजर्षि जनक कप चैत २ गतेदेखि १३ गतेसम्म

२६ फागुन, काठमाडाैँ । मधेश प्रदेशकै गौरव राजर्षि जनक कप फुटबल प्रतियोगिताको छैठौं संस्करण यही चैत २ गतेबाट सुरु हुने भएको छ । बिहीबार आयोजक बागमती युवा क्लब र बागमती नगरपालिकाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । प्रतियोगितामा विभागीय २ सहित ‘ए’ डिभिजनका ६, पाहुना टोली एक, मोफसलका ४ र आयोजक बागमती गरी १२ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुनेछ ।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, मच्छिन्द्र क्लब काठमाडौं, मनाङमस्र्यादी क्लब काठमाडौं न्युरोड टिम एनआरटी काठमाडौं, हिमालयन सेर्पा क्लब काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, पिप्ले युवा क्लब हेटौडा, सुदूरपश्चिम ११ धनगढी, नव जनजागृति युवा क्लब सिमरा र एविए ग्लोबल एफसी चितवनले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अर्को आयोजक बागमती नगरपालिकाकी उपमेयर लीला कुमारी मोक्तानले यस प्रकारको प्रतियोगिताले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताइन् । बागमती युवा क्लबले आयोजना गर्दै आएको यस राजर्षि जनक कप प्रदेशकै गौरवको प्रतियोगिता भएको उनको भनाई थियो ।

प्रतियोगिता सञ्चालनमा ८० लाखको हाराहारीमा खर्च हुने अनुमान गरिएको क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद १० लाख एक हजार र राजर्षि जनक कप तथा उपविजेताले नगद ५ लाख एक हजार शिल्ड र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता खर्च क्लबको अक्षय कोष, बागमती नगरपालिकाको सहयोग, टिकट र सहयोगी समूहबाट संकलन गरिएको क्लबले जनाएको छ ।

आयोजक बागमती युवा क्लबका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा चैत २ गते मनाङ मसाङ्ग्र्याइदी काठमाडौं र नेपाल आइस हिमालयन सेर्पा क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १७:२४