२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मह जोडी

२८ मंसिर, काठमाडाैँ । नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन्।नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे।

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखे।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए।

उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे।

कार्यक्रममा श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडरले टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन्। हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १७:०५