१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फेरि अनसन बस्ने डा केसीको घुर्की, डण्डा चलाउने संयन्त्रको नेतृत्व गर्न अोलीको प्रस्ताव

२६ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा गोविन्द केसीसमक्ष प्रस्ताव गर्नु भएको छ । १५ औं अनसनपछि आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका डा केसीसमक्ष प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीका मागको स्मिामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको वताउनुभयो ।

‘म प्रधानमन्त्री भएका बेला तपाईं अनसन नै बस्नु पर्ने थिएन । जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ प्रधानमन्त्री ओलीले केसी समक्ष भन्नुभयो, ‘त्यसको कमाण्ड तपाईं सम्हाल्नुस्, दुर्गमका जनताको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य चिकित्सक र प्रशासकहरु रहेको केसीले वताउनु भयो । ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्तिहरु धेरै हुनुहुन्छ’ केसीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको वताउनु भयो । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सिमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको वताउनुभयो ।

‘जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ, कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सिमामा मत्रै बस्नुपर्छ भन्ने छैन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकार त्यो भन्दा फराकिलो भएर जान चाहन्छ ।’ किन सम्झौताको प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न केसीलाई आग्रह गर्नुभयो । ‘तपाईंहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिवद्ध छु ।’

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार २०:२०