१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पैसा फ्रिज हुन नदिन योजना सम्पन्न गर्ने प्रवृत्तिको अन्त गर्ने तुलसीपुर उपमहानगरपालिकाकाे निर्णय 

२६ साउन,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ । अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । “पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ ।”, उपमहानगरप्रमुख घनश्याम पाण्डेले भन्नुभयो ।

उहाँले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औँ कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताउनुभयो ।

कार्यपालिका बैठकले गरेको निर्णयअनुसार योजनालाई तीन चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणमा जनताका लागि अत्यावश्यक योजना राखिने र दोस्रो तथा तेस्रो चरणमा कम आवश्यकताका योजनालाई प्राथमिकतामा राखेर काम गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले बताउनुभयो । उहाँले कार्यपालिकाले पारित गरेका सबै बजेटको कार्यान्वयन सुनिश्चित नहुने भएकाले अत्यावश्यक योजना नछुटुन भनेर यस्तो गरिएको पनि जानकारी दिनुभयो ।

उपमहानगर प्रमुख पाण्डेले योजनाको व्यवस्थापनका साथै विकासलाई प्रभावकारी बनाउन प्राथमिकताको आधारका योजना वर्गीकरण गरिएका हुन् भन्नुभयो । योजनाको प्राथमिकीकरणअन्तर्गत पहिलो चरणमा हुने योजनाको सम्झौता पुस मसान्तसम्म, दोस्रो चरणको सम्झौता फागुन मसान्त र तेस्रो चरणको सम्झौता वैशाख १५ सम्म हुने भएको छ । सबै योजनाको सम्झौता भदौबाट शुरु हुने छन् ।

नयाँ बजेट प्रणालीअन्तर्गत पुस महिनाभित्र बजेटको विश्लेषण गरेर दोस्रो र तेस्रो प्राथमिकतामा परेका योजनामा कति रकम छुट्याउने भन्ने कुराको निक्र्यौल गरिने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १०:४३