१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

साहित्यिक पत्रकारिताको धरोहर दाहाल यज्ञनिधिको निधन, अलविदा ‘जदाै’

२५ साउन, काठमाडाैँ । साहित्यिक पत्रकारिताको धरोहर साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उहाँका भाइ पुष्पनिधि दाहालले जानकारी दिनुभयो ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना हुनुभएको थियो । दुई दशकअघि उहाँको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस हुनुभएपछि उहाँलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उहाँ मण्डिखाटारस्थित निवासमा लड्नुभएको थियो । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि आज उहाँलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।
खोटाङमा जन्मनुभएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो । हाल उहाँले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आउनुभएको थियो । उहाँका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार २१:१७