१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेता आचार्यको योगदान भुल्न हुँदैनः सदस्य केसी

२४ साउन,नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले नेता विष्णुबहादुर आचार्यको योगदानलाई अहिलेको पुस्ताले भुल्न नहुने बताउनुभएको छ । सदरमुकाम विदुरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित आचार्यको १३ औँ दिनको पुण्यतिथिमा भएको शोकसभामा नेता केसीले आचार्यले बिपीको सिद्धान्तलाई पालना गरी पार्टीमा योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले आचार्यले पार्टीलाई जिल्लामा स्थापित गराउन र प्रजातान्त्रिक आन्दोलनका लागि अतुलनीय योगदान दिनुभएको बताउनुभयो । काङ्ग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेश महतलगायतले आचार्यले नुवाकोटको काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको विचार राख्नुभयो । कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले कांग्रेसले निष्ठावान् अग्रज नेतृत्व गुमाउनुपरेको बताउनुभयो ।

काँग्रेसका पुराना नेता आचार्यको यही साउन १२ गते राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्वुदरोगबाट निधन भएको थियो । विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिनुभएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला समितिका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय हुनुभएको थियो । नेता आचार्य पार्टी महासमिति सदस्यसमेत हुनुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १८:३८