सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफाँड हुने
२४ साउन, काठमाडाैँ । सिटिजन्स बैंकको एफपिओ साउन २५ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले शुक्रबार बिहान क्यापिटलकाे कार्यालय जमलमा एफपिओ बाँडफाँड गरिने जनाएको छ ।
बैंकले साउन १५ देखि १८ गतेसम्म निष्काशन गरेको ४ लाख ६३ हजार ८२६ कित्ता एफपिआेमा ६४ हजार ७१० वटा आवेदन परेको छ । सिटिजन्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको थियो ।
बैंकले निष्काशन गरेको एफपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार प्रत्येक आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार ४६ हजार ३८२ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् ।
बैंकले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न एफपिओ निष्काशन गरेको थियो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ । एफपिओपछि बैंकको चुक्ता पूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ ।
एनएफअार प्रणाली अनुसार बैंकले गत आर्थिक बर्षमा एक अर्ब २७ करोड ३४ लाख रूपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ८६ पैसा कायम गरेकाे छ । बैंककाे लाभांश क्षमता ९६ कराेड ४९ लाख बराबरकाे रहेकाे वित्तीय विवरणमा उल्लेख छ ।
प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १४:४३