२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

धादिङमा कांग्रेस नेता रिजालले ज्यूँदो मान्छेलाई वेपत्ता देखाएर ९ रोपनी जग्गा अर्कैको बनाइदिए


-सीताराम अधिकारी

९ फागुन, धादिङ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा आफन्तले बेचेर खाइदिएका छन । रोजगारीका लागि भारतमा गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुईजना भाईको जग्गा नेपाली कांग्रेसका नेता समेत रहेका वडा अध्यक्षसहितको मिलेमतोमा आफन्तले बेचेर खाएका हुन ।

सल्यानटार ३/झ अन्तरगत कित्ता नम्बर ७ को ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा कृष्णबहादुरका ठुलोबाबुको छोरो मनबहादुर दरैले नक्कली कागज बनाएर जग्गा खाइदिएपछि दरै परिवार बिचल्लीमा परेका छन् । मजदुरी गर्दै जीवन धानीरहेका कृष्णबहादुरको परिवार गाउँ आउँदा आफ्नो जग्गा अरुले खाएको थाहा पाएपछि पीडामा परेको छ । कृष्णबहादुरले सोमबार जिल्ला प्रशासन कार्यालयमा धादिङमा पुगेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाइ भेटेरै उजुरी दिएका छन ।  उनको उजुरीपछि प्रहरीले उनको जग्गा खाने मनबहादुरलाइ पक्राउ गरेर हिरासतमा लिएको छ ।

मनबहादुरले कृष्णबहादुर समेत २०४६ जेठ २६ गते देखि हराईरहेको र आफू नजिकैको हकदार भनेर किर्तेकागज बनाई बुढीगण्डकी जलविद्युत आयोजनाको तर्फबाट मुआब्जा समेत खाएको कृष्णबहादुरले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

२०४६ मा बेपत्ता भएको भनिएका कृष्णबहादुरले २०५४ साउन १२ गते जिल्ला प्रशासन कारर्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ । अर्को किर्ते कुरा समेत २०७६ सालमा बनाईएको कागजहरु जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ ।

२०७६ मा बनाईएको कागजमा कृष्णबहादुर हराएको बेलामा नजन्मिएका सपना दरै र भर्खर जन्मिएका सुर्यबहादुर दरै साक्षी बसेको देखाईएको छ । तत्कालीन वडा सचिव नारायण थपलियाले तयार पारेको सर्जिमिन मुचुल्कामा कार्यवहाक वडाअध्यक्ष बनाईएका रामहरी गिरिले रोहबरमा हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसको टिकटबाट निर्वाचित त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजबहादुर रिजालले कृष्णबहादुर दरै समेत बेपत्ता भएकोले कृष्णबहादुरको आमाको नाममा रहेको जग्गा र सम्पती मनहादुरको नाममा नामसारी गरिदिन गाउपालिका कार्यालय र मालपोत कार्यालयलाई सिफारिस समेत गरेको देखिएको छ ।

जिल्ला मालपोत कार्यालयले समेत कानुन विपरित बेपत्ता भएका व्यक्तिको खोजि नगरी थप किर्ते कागज बनाएर जग्गा नामसरि गरिदिएको देखिएको छ । कोहि मानिस वेपत्ता भयो भने देवानी संहिता २०७४ को दफा ४० बमोजिम जिल्ला अदालतले बेपत्ता घोषणा भएको प्रमाणित गर्नुपर्ने हुन्छ ।

मालपोत कार्यालयले आँफैले टिप्पणी उठाएर नामसारी गरेको देखिन्छ । जिल्ला मालपोत कार्यालयमा तत्कालीन अवस्थामा मालपोत अधृतको रुपमा कार्यरत पुरूषोत्तम भण्डारी धादिङबाट सरुवा भैसकेका कारण उनीसँग सम्पर्क गर्न सकिएन ।आफ्नो नाममा जग्गा आएपछि मनबहादुरले बुढीगण्डकी जलविद्युत आयोजनाबाट ६३ लाख ७५ हजार ५ सय ३९ रुपैयाँ मुआब्जा समेत लिएको जिल्ला प्रशासन कार्यालय धादिङको रेकर्डबाट देखिन्छ ।

कृष्णबहादुर दरै बेपत्ताको सम्बन्धमा वडाअध्यक्ष भोजबहादुर रिजालले गाउँलेको मुचुल्का र मनबहहादुरको निवेदनको आधारमा मालपोत कार्यालयलाई सिफारिस गरेको र यसमा आफ्नो अन्य नियत नभएको स्पष्टिकरण दिएको छन तर उनले मिलेमतोमा यो सबै गरको स्थानीयले आरोप लगाएका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार १८:१३