२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रचण्डका लागि माधव नेपाल नै घाँडो ! ह्वीप बिना एमसीसी अनुमोदन गराउने तयारी


२९ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि एमाले फुटाएर सानो दलको अध्यक्ष बनाइदिएका माधवकुमार नेपाल नै घाँडो बनेका छन । एमसीसीमा नाममा तिकडम गरेर एमाले नेतृत्वको सरकार ढालेर सर्वोच्चको परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याएका प्रचण्डलाई अहिले त्यसबेलाका सहयोगी माधवकुमार नेपाल निकै घाँडो बनेका छन ।

अलिअलि बन्न लागेको अन्तर्रार्ष्ट्रिय छवि र विश्वास एकै पटक माटोमा मिल्नुअघि प्रचण्डले आफ्नो राजनीति जोगाउन निकै कठिन संघर्ष गरिरहेका छन । प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको गोप्य भनिएको पत्र नै सार्वजनिक गराइदिएपछि प्रचण्ड निकै तनावमा छन । उनी एमसीसीका बारेमा नकारात्मक छैनन तर पार्टीका नेताहरू सबैजसो एमसीसीको बिरूद्धमा गएपछि उनी थप समस्यामा परेका छन ।

यता आफैँले अध्यादेशको बाटोबाट सानो दल बनाएर अध्यक्षमा बिराजमान गराइदिएका माधव नेपालले सल्लाह नै नगरी देशव्यापी आन्दोलनको घोषणा गरेपछि प्रचण्ड थप समस्यामा परेका छन । तत्कालीन नेकपाको सरकारले इमान्दारिता पूर्वक संसदमा लगेको एमसीसी सभामुखको प्रयोग गरेर प्रचण्डले नै रोकेका थिए ।

पछि उनले अमेरिकी राजदूत र एमसीसीका प्रतिनिधिसँग ओली सरकारको बहिर्गमनपछि आफूले संसदबाट अनुमोदन गराउने भनेर समर्पण पत्र नै लेखेका थिए । ओलीका लागि थापेको पासोमा प्रचण्ड अहिले आफैँ परेका छन । संसदमा उपस्थित सांसदको सामान्य बहुमतले अनुमोदन गर्न सकिने भए पनि कम्तिमा १०० भोट जुटाउन पनि देउवा र प्रचण्डलाई कठिन देखिएको छ ।

यद्यपी उनीहरूले गठबन्धन कायम गर्ने नाममा सामान्य बुहमतबाट एमसीसी पास गराउने भित्री तयारी थालेका छन । त्यसका लागि प्रचण्डले देउवा र ओलीसँग पनि छुट्टाछुट्टै कुरा गरेका छन । यद्यपी उनलाइ घाँटो भैसकेका माधव नेपालसँगै बालुवाटार पुग्दा एमसीसी पास गर्न नसक्ने बताउँदै आएका प्रचण्डले सरकारले संसदमा एमसीसी टेबुल गरेर एमालेले के गर्छ भनेर विभिन्न विकल्पमा समेत छलफल चलाइसकेका छन ।

यद्यपी बाहिर भने एमसीसीका कारण सत्ता गठबन्धन धरमराएको अनुमान गरिएको छ । तर एमसीसीकै जगमा सर्वोच्च अदालतको समेत दुरूपयोग गरेर सरकार बनेका कारण ह्वीपबिना सामान्य बहुमतले एमसीसी पास हुने सम्भावना रहेको छ । ह्वीप नलगाएपछि केही मत दिन मन नलाग्नेले तटस्थ वा विपक्षमा पनि मत दिन पाउने र गठबन्धन पनि जोगिने गरी देउवा र प्रचण्डकोबीचमा सहमति बनेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार २१:२३