१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाल बिरूद्ध भ्रष्टाचार मुद्दा दायर

२१ साउन,काठमाडौँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ । अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैँले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरीद गरेको पाइएको आयोगले अभियोग लगाएको छ । आयोगले बिगोवमोजिमको रकम असुल गरी हदैसम्मको कारवाहीको माग गरेको छ ।

यस्तै आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाल विरुद्धसमेत मुद्दा दायर गरेको छ । लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिमामा जस्तै रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । सरकारी कोषको रकम दूरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घर जग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १९:४७