२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

आफ्नै वडाबाट भत्ताको ५३ लाख चोरिएको १० महिना भयो, ढुंगा बोल्ला तर यी नेता बोल्दैनन्

-प्रशान्तजंग पाण्डे

१२ माघ, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ जुन नेपाली कांग्रेसको केन्द्रीय र जिल्ला राजनीतिमा स्थापित आधा दर्जन नेताहरूको जन्मस्थल हो । पञ्चकन्या २ ती नेताहरूको जन्मस्थलको रूपमा भन्दा पनि सामाजिक सुरक्षा भत्ताको चोरीको विषयले थप चर्चामा रह्यो ।

१० महिना अघि गाउँका वृद्धबृद्धा, शारिरिक अशक्तता भएका र एकल महिलाका लागि राज्यले दिने सामाजिक सुरक्षा भत्ताको ५० लाखसहित पालिकामा उठेको राजस्वको ३ लाख गरी कुल ५३ लाख रूपैयाँ चोरीको नाटक गरेर कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा वेपत्ता पारियो । सोही वडा र पालिकाका स्थायी बासिन्दा अझै त्यही भूगोलबाट राजनीति गरिरहेका नेताहरूले चोरीको विषयमा आँखा चिम्लेर चोरलाई नै सहयोग गरे ।

सोही वडाका स्थायी बासिन्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय डा रामशरण महत, डा प्रकाश शरण महत, नेपाली कांग्रेस जिल्ला सभापति रमेशकुमार महत र जिल्लास्तरीय नेताहरू बैकुण्ठ मिश्र, उपेन्द्र कुइकेल र माधवप्रसाद खनाल,  माओवादीका केन्द्रीय सदस्य समेत रहेका सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नेकपा एमालेका नेता रामनाथ खनाल लगायत छन तर एमालेका रामनाथ खनाल र कांग्रेसका वैकुण्ठ मिश्र बाहेकले चोरीको बारेमा खबरदारी गरेको चोर समात्न पहल गरेको र दबाब दिएको पाइएन । अहिले स्थानीयले केन्द्रमा नेता कहलिएकाहरूलाइ हामीले किन नेता मान्ने र भन्ने भन्दै प्रश्न उठाउन थालेका छन ।

१० महिना भयो आफ्नै गाउँका बृद्धबृद्धा, एकल महिला र अपाङ्गले पाउनुपर्ने राज्यले दिएको रकम लुटिएको तर अहिलेसम्म पनि राष्ट्रिय राजनीतिमा स्थापित भएका महत दाजुभाइले केही बोलेका छैनन् । उनीहरूले प्रहरीलाई खबरदार मात्र भनेको भए पनि अहिलेसम्म चोर समाति सकिन्थ्यो भने उनीहरूले राज्यले दिएको पैसा पनि पाइसकेका हुन्थे ।

चोरीको समाचार खण्डन गरेर प्रतिवादको प्रयास गर्ने हितबहादुर तामाङले पनि चोर समात्नका लागि भूमिका खेलेको देखिएन । उनले दैनिकीमा प्रकाशित भएको समाचार खण्डन गर्न गरेको प्रयास भन्दा बाहेक चोर समात्नका लागि कुनै पहल गरेका छैनन् । यद्यपी सोही वडाका स्थायी बासिन्दा नेकपा एमाले पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनालले भने बीसौँ पटक सामाजिक सञ्जाल मार्फत चोर समात्न र सामाजिक सुरक्षाको रकम बितरण गर्नका लागि माग गरेको पाइयो ।

त्यस्तै कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले चोर समात्न माग गर्दै वडा कार्यालयमा गएर ताला समेत लगाएका थिए । तर गृह प्रशासनले सकारात्मक भूमिका निर्वाह नगर्दा खनाल र मिश्रहरूले उठाएको आवाज निर्णायक हुन सकेन । खनालले चोर समात्न र बृद्ध भत्ता वितरण गराउनका लागि गरेको प्रयास उनकै आवाजमा सुन्न सक्नुहून्छ ।

स्थानीय एक कांग्रेस नेता  भन्छन, ‘तत्कालीन गृहसचिव महेश्वर न्यौपानेको विवादित भूमिकाका कारण चोरीमा संलग्नहरू नै वादी र प्रतिवादीको अवस्थामा बन्न पुगे ।’ हुन पनि प्रहरीको भूमिका यस घटनामा त्यति सकारात्मक देखिएन । सीसीटिभी फुटेजकै आधारमा चोर समात्न सक्ने र क्षतिपूर्ति भाराउने मिल्ने पर्याप्त प्रमाण हुँदा हुँदै प्रहरी पनि ५३ लाख वेपत्ता बनाउन गरिएको चोरीको नाटकको अभिनयमा मात्र अनुसन्धान गर्न पुग्यो ।

जिल्ला अदालत नुवाकोटमा दायर गरेको मुद्दा र त्यसको अभियोगपत्रबाटै थाहा हुन्छ कि चोरीको घटनामा दोषी उम्काउनका लागि कतिसम्म प्रयास गरिएको छ भनेर । सीसीटीभीको फुटेजमा देखिएको विवरण र आरोपितहरूले दिएको इन्कारी वयान ठ्याक्कै उल्टो रहेको छ । यसले पनि चोरको संरक्षणमा विभिन्न शक्तिले खेलेको बुझ्न सकिन्छ ।

बृद्धभत्ताको ५० लाख रकम झोलामा बोकेर वडा कार्यालयमा प्रवेश गरेका प्राविधिक सहायक रामकुमारी गिरीले सोही झोला बोकेर वडा कार्यालयबाट बाहिरिएको सीसीटीभीमा प्रस्टै देखिएको गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताएका छन । तामाङले सीसीटीभीको फुटेजका बारेमा दिएको जानकारी भिडियामा सुन्न सक्नुहुन्छ । वडा सचिव सरिता रावत पनि पैसा झिक्न गिरीसँगै विदुर गएकी थिइन ।

सीसीटीभी फुटेजमा गिरीले पैसाको झोला जस्तो ल्याएर वडा कार्यालयमा राखे त्यस्तै अवस्थामा पुन बोकेर वडा कार्यालयबाट निस्केको प्रस्टै देखिने गाउँपालिका प्रमुख तामाङले बताएका छन । फुटेजमा प्रस्टै प्राविधिक साहायक गिरीले पैसाको झोला जस्तो ल्याएको त्यस्तै बोकेर निस्केको देखिदाँ पनि अदालतले धरौटीमा छाडिदिएको हो ।

प्रहरीले गिरीको पोलिग्राफ रिपोर्ट लिँदा उनले झुटो बोलेको देखिएको छ । गिरीले सत्य कुरा लुकाएर झुटा गरेको पोलिग्राफबाट देखिएको प्रहरीले जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा नै उल्लेख भएको छ । पर्याप्त प्रमाण हुँदाहुँदै अदालतले आरोपितलाई धरौटीमा छाडेपछि अदालतसम्म चोरीको सेटिङको प्रभावमा परेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा केही अघिसम्म कार्यरत एक प्रहरी अधिकृत भन्छन, ‘रातिमा ढोका खोलेर गरिएको गतिबिधिहरू नाटकमात्र हो, त्यो समयमा गृह सचिवकै फोन भएपछि धेरै गर्न सक्ने अवस्था पनि थिएन । चोरिएको भनिएको पैसा वडा कार्यालयमै प्रवेश गरेको छैन । जुन कुरा सीसीटिभी फुटेजमै देख्न सकिन्छ ।’

चोरीको विषयमा मसिनो ढंगले अनुसन्धान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई कारबाही स्वरूप पालिकाबाट मन्त्रालय तानेर केही दिन झगेडामा समेत रखेर कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखि पठाएको थियो । तर अहिलेसम्म देखिने गरी अख्तियारले पनि कुनै कारबाही प्रकिया अघि बढाएको छैन ।

१० लाख भन्दा बढी नगद झिक्न नपाउने र केन्द्रीय र स्थानीय सरकारको नीति अनुसार सामाजिक सुरक्षाको भत्ता सीधै बैंक खातामा पठाउने अभ्यास थालिसकेको अवस्थामा योजनावद्ध ढंगले वृद्ध भत्ताको पैसा व्यक्तिको खातामा पठाएर झिकेर वेपत्ता बनाइएको छ । तर १० महिना पुग्दा पनि अहिलेसम्म चोर किटान हुन सकेको छैन ।

याे पनि पढ्नुहोस्

१. सीसीटीभीमा नुवाकोटको बृद्धभत्ता चोरी प्रकरणः जसले बैंकबाट पैसा ल्याए उनैले लगे

२. बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो

३. बृद्धभत्ता चोरी प्रकरणः मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई पत्र

४. बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

५. बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

६. नुवाकोटमा बृद्ध भत्ता चोरिएको कांग्रेसले पनि थाहा पायो, वडा कार्यालयमा तालाबन्दी

७. बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै

८. बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

९. नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १४:५२