कांग्रेसमा कोइरालाहरू पनि व्यूँझिए, वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष
१० माघ, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित भएपछि कुनै गुट नबनाउने र पार्टी सभापति शेरबहादुर देउवालाई निशर्त पार्टी चलाउन सहयोग गर्ने घोषणा गरेका डा शेखर कोइरालाले आफ्नो विचार समूह व्यूँझाएका छन ।
नेकपा माओवादी केन्द्रेका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको राजनीति जोगाउने नाममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले निर्वाचन नगराउने गरी छलफलहरू अघि बढाएपछि कोइराला समूहले सोमबार भेला गरी आफ्नो धारणा बाहिर ल्याएको हो ।
उनीहरूले सोमबार भर्चुवल माध्यमबाट भेला गरी पाँच दलीय गठबन्धनको नाममा देउवा अन्य दलको परमार्शमा अघि बढे कांग्रेसको अस्तित्व समाप्त हुने निष्कर्ष निकाल्दै उनीहरूले पार्टी सभापतिको ध्यानाकर्षण गराउने निर्णय गरेका छन ।

छलफलमा धारणा राख्नेक्रममा नेताहरूले पाँचदलीय गठबन्धन कांग्रेसका लागि घातक बन्दै गएको बताए थिए । उनीहरूले स्थानीय निर्वाचनका बारेमा पार्टीमा कुनै छलफल र निर्णय नै नगरी प्रचण्ड र माधवहरूको इशारामा गठबन्धनको निष्कर्ष भन्दै गलत काम गरिरहेको बताएका थिए । उनीहरूले तत्कालै पार्टी सभापति देउवासँग भेटेर स्थानीय चुनाव वैशाखमै गर्न र चुनवमा गठबन्धन गर्ने कुरा नगर्न ध्यानाकर्षण गराउने निष्कर्ष निकालेका छन ।
छलफलमा पार्टी महामन्त्री गगन थापा, नेताहरू डा रामशरण महत, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लगायत सहभागी थिए । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकाले छ ।
प्रकाशित मिति : January 24, 2022 at 7:05 pm









