१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रवासबाट मतदानको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाइदै

९ माघ, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई आगामी निर्वाचनहरुमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै आगामी जनवरी २४ मा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दुतावासहरुमा ज्ञापन पत्र बुझाउने भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्राउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा चाहि वाहिर राख्नु अन्याय भएकाले मञ्चले प्रवासबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगको ज्ञापन पत्र बुझाउन लागेको बताउनुभयो ।

उहाले नेपालमा नेपालमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाइ ज्ञापनपत्र बुझाउने तय भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संगको भेटघाटको लागि सचिवालयमा कुराकानी भैरहेको बताउनु भयो । त्यसै गरि प्रवासमा विश्वभरि रहेका नेपाली दुतावासहरु मार्फत पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँले प्रवासमा नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाटै मतदान गर्न पाउनु पर्ने बताउनुभयो । अमेरिका अष्ट्रेलिया लगायतका विश्वका धेरै देशहरुले निर्वाचनका बेलामा प्रवासमा रहेका नागरिकहरुलाई मतदान गर्ने व्यवस्था गरेको उदाहरण दिदै नेपालमा रेमिट्यान्स भित्रायर नया नेपाल निर्माणमा योगदान गरेका प्रवासीहरुलाई नेतृत्व निर्माणमा पनि सहभागी गराउनु पर्ने बताउनुभयो ।

सचिव पाण्डेले सम्मानित सर्वोच्च अदालतले समेत प्रवासीहरुलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेको सन्दर्भमा हाल सम्म पनि व्यवस्था नहुनु दुखद रहेको वताउनुभयो । उहाले विश्व भरि रहेर सारा बाधा र अपठ्यारा सहेर देशको अर्थतन्त्र धान्ने परिश्रमी बुद्धिजिवी जसमा पनि रहेका अत्याधिक नवयुवालाई देशको नेतृत्व निर्माणमा समेत योगदान गर्ने वातावरण बनाउने अभियान मञ्चले शुरु गरेको र सबैको सहयोग रहेमा पुरा गरेरै छाड्ने बताउनुभयो ।

यसै क्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले दिएको जानकारी अनुसार प्रवासीहरुका लागि मतदानका लागि माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानवेरा स्थित नेपाली दुतावासमा ज्ञापनपत्र बुझाइने भएको छ । जोशीका अनुसार मञ्चको अन्तराष्ट्रिय कमिटीले तोके बमोजिम आगामी सोमवार स्थानिय समय अनुसार दिनको तिन बजे पत्र बुझाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ०८:५४