नुवाकोटमा सुनिए सुदेश र देवकी
२० साउन ,नुवाकोट ।
हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ?
आमा बेच्नु प¥यो भने यदि कतै लौ मूल्य तोक्छौ कति
कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ?
खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन ।
‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा शनिबार आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै हुनुहुन्थ्यो ।
दश कविता प्रस्तुत गर्नुभएका सत्याल यहाँका साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ कवितामा प्रस्तुत गर्नुभएको थियो । ‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’ जस्ता शब्द बान्की समेटेको कवितामा सिरियाको युद्ध रोक्नका लागि गरिएको आह्वानमा युद्धाको पीडा सुनेर साहित्यप्रेमी भावुक बनेका थिए ।
कविले ‘सस्तो भयो जीवन’, ‘सधैँ भइरहूँ म तिम्रो सहारा’, ‘दार्जिलिङमाथि एउटा कविता’ ‘ताली नमार्नू अब’, ‘नेपाल बन्द छ’ लगायत कविता वाचन गर्नुभएको यियो । दुई प्रेमिल गजलले पनि दर्शकलाई मोहित पार्न सफल भए । सत्यालले आफ्नो चर्चित कविता ‘फर्केर आऊ घर’ वाचन गरी आफ्नो प्रस्तुतिलाई बिसाउनुभएको थियो ।
‘नुवाकोट पर्यटन प्रवद्र्धनका लागि’ नारासहित नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको कन्सर्टमा अर्का प्रतिभा देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गर्नुभएको थियो । कवि अभिलाषीले ‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’लगायत कवितामा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्मलाई रचनामा समेट्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले साहित्य श्रीवृद्धिका लागि यस्ता कार्यक्रम जिल्लामा निरन्तर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी कवि राजकुमार पुत्लाले कन्सर्टमा दुवै स्र्रष्टाको दमदार प्रस्तुतिले मन छोएको बताउनुभयो । पर्यटन विकास तथा प्रवद्र्धनमा साहित्यको भूमिका धेरै रहने भएकाले जिल्लाको पर्यटन प्रवद्र्धन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १४:३०