१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भदौ १५ भित्रै मुख्य सडक कालोपत्र हुने

–रमेश लम्साल

१९ साउन,काठमाडौँ । सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ ।

पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइने भएको छ ।

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सो सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

प्रधानमन्त्रीले स्थानीय र यात्रुको चासोलाई सम्बोधन गर्दै सडक निर्माण तथा मर्मत सम्भारलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।यस्तै काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने, सडकमा सडक संकेतको व्यवस्थासमेत गरिने भएको छ ।

कानूनी तथा प्रशासनिक झमेलाका अतिरिक्त वर्षात्ले काठमाडौँ उपत्यकको सडक निर्माण र विस्तारले तीव्रता पाउन नसकेको भए पनि नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रधानमन्त्री आफँैले चासो व्यक्त गर्नुभएको हो ।

यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ ।

रासससँग कुराकानी गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले जनतालाई तत्काल राहत दिने गरी कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडकखण्डमा कम्तीमा पनि आठ मिटर सडक मर्मत गर्ने र घाम लागेलगत्तै कालोपत्र गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतको आदेशका कारण कतिपय स्थानमा सडक विस्तारमा समस्या आएको, कालोपत्र, गर्न, मर्मत सम्भारसमेत गर्न समस्या देखिएको छ । तीबाहेकका क्षेत्रमा भने तत्काल मर्मत सम्भार गर्न सडक विभाग र सम्बद्ध निर्माण व्यवसायीलाई आवश्यक निर्देशन गरिएको र केही दिनभित्रै कामसमेत शुरु हुन्छ ।”

पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने, ढल तथा डे«नको निर्माण गर्ने, पानी जम्न नदिने तथा धुलो र हिलोबाट बचाउने तवरले मन्त्रालयले आवश्यक प्रक्रिया मिलाएको उहाँको भनाइ छ ।

मन्त्री महासेठले काठमाडौँभित्रका सडकको खाल्डाखुल्डी पुर्नसमेत प्रधानमन्त्रीको निर्देशनअनुसार नै प्रक्रिया शुरु गरिएको उहाँले राससलाई जानकारी दिनुभयो । सो कार्य आगामी भदौ १२ भित्र सम्पन्न गरिनेछ ।

मनसुनका कारण कतिपय स्थानमा खाल्डाखुल्डी मर्मतमा समेत समस्या भएको भन्दै उहाँले केही समयभित्रै काठमाडौँ उपत्यकाका सडक खाल्डाखुल्डीरहित बनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कलंकी–नागढुंगा सडकखण्डमा सर्वोच्चको आदेशका कारण समस्या भएको भन्दै सरकारले पुनरावेदनकोसमेत तयारी गरेको छ । आदेशलाई कार्यान्वयन गर्दा सडक निर्माण नै गर्न नसकिने अवस्थामा पुगेको ठहर गर्दै मन्त्रालयले केही दिनभित्रै सर्वोच्चमा पुनरावेदन गर्न लागेको मन्त्री महासेठको भनाइ छ । उहाँले जनताको जायज गुनासो र आग्रहलाई सम्मान गर्दै मन्त्रालय अघि बढेकोसमेत स्पष्ट पार्नुभयो ।

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडक निर्माणमा अवरोध भएका पोल सात दिनभित्रै हटाउने र नयाँ पोल स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलेसमेत सडक निर्माणमा अवरोध रहेकामध्ये यही साउन १६ गतेदेखि नै पोल हटाउने र नयाँ पोल राख्ने कार्य अगाडि बढाइसकेको छ ।

विद्युत्, टेलिफोन, खानेपानी, ढल निकास, सडक, शहरी विकास एंव शहरी सौन्दर्यको काम सँगसँगै एकीकृतरुपमा समन्वयात्मक तवरले अगाडि बढाउन लागिएको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार २०:१९