१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउनुपर्ने

१९ साउन,लहान  । तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा सहभागीले परम्परागत सोच र देखासिकीका कारण बढ्दो दाइजो प्रथाले गर्दा कतिपय महिलाले ज्यान गुमाउनु परेकाले यसलाई अन्त्य गर्न सरकारले विशेष अभियान नै चलाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्णले अशिक्षित र गरीबभन्दा पनि पढेलेखेका र धनी परिवारमा दाइजो प्रथा व्याप्त रहेको उल्लेख गर्नुहुँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले विशेष अभियान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पितृसतात्मक सोचका कारण अझै महिला दाइजोको निहुँमा हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशसभाले महिलाको पक्षमा कानून निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले दाइजो प्रथाका कारण थुप्रै महिलाले घरेलु हिंसा भोग्नुपरेकाले यसलाई नियन्त्रण गर्न स्थानीय तहले पनि पहल गर्ने बताउनुभयो ।

सो अवसरमा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका–३ का वडाध्यक्ष सत्यनारायण साह, महिला नेत्री सरस्वती चौधरी, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रमेश दाहाललगायतले दाइजो नल्याएकै कारण ज्यान गुमाउनु पर्ने सामाजिक परिस्थिति बन्नु निकै गम्भीर कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १४:०९