६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरन सुत्केरी बिदा सकेर काममा


१८ साउन, काठमाडाैँ । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी बिदा पुरा गरेर काममा फर्किएकी छिन्। झण्डै ६ हप्ताको बिदा सकेर उनी बिहीबार काममा फर्किएकी अधिकारीहरुले जानकारी दिएका छन्। उनले सो अवधिलाई ‘मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता’ बनेकी छिन्।

प्रधानमन्त्री भएकै बेला सुत्केरी हुने उनी विश्वको दोस्रो व्यक्ति हुन्। यसअघि सन् १९९० मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोले पनि प्रधानमन्त्री भएकै बेला सन्तान जन्माएकी थिइन्। हाल ३८ वर्षकी प्रधानमन्त्री अर्डेरन न्युजील्यान्डको इतिहासमा थोरै उमेरमै प्रधानमन्त्री हुने व्यक्तिमध्येमा पर्छिन्। ‘म बिदामा भएका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिएका मेरा सहकर्मीले न्युजिल्यान्डको लागि राम्रो भूमिका निर्वाह गर्नुभएको छ भन्ने मैले विश्वास लिएकी छु,’ उनले भनिन्।

प्रधानमन्त्री अर्डेरनले बिदाको समय आफ्नो सन्तान र परिवारजनसँग आनन्द र खुसीका साथ बिताएको अनुभव सुनाइन्। ‘त्यो एउटा विशेष अवसर हो, त्यसलाई राम्रो रुपमा मैले अनुभूत गरेको छु, अव म पूर्ववत अवस्थामै काम गर्न सक्नेछु।,’ उनले भनिन्। आफु प्रधानमन्त्रीको काममा व्यस्त भएका बेला आफ्ना श्रीमानले आफ्नो सन्तानको हेरविचार गर्ने बताउदै अर्डेरनले थपिन्,‘म धेरै भाग्यमानी छु, यस्तो अवसर संसारका थोरै महिलाले मात्रै पाएका छन्।’ रासस/एएफपी

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १०:२२