२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण दर बढ्यो

१८ पुस, धनगढी । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण दर तीव्र बन्दै जाँदा भारतबाट नेपाल आएका व्यक्तिमा समेत कोरोना संक्रमण दर बढेको छ ।

कैलालीसँग जोडिएको गौरीफन्टा नाकास्थित सीमामा गरिने एन्टिजेन परीक्षणअनुसार पछिल्लो तीन दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । गौरीफण्टा नाकामा स्थापना गरिएको स्वास्थ्य परीक्षण केन्द्रका अनुसार १६ पुसमा १२२ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १७ पुसमा १६५ जनाको स्वास्थ्य परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य परीक्षण गौरीफन्टा केन्द्रका इन्चार्ज गणेश बहादुर साउँदले बताए ।

यसैगरी १८ पुस १८ दिउँसोसम्म ११२ जनाको स्वास्थ्य परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भइसकेको साउँदले बताए ।

उनका अनुसार १५ पुस सम्म भारतबाट आउनेमध्य दैनिक एक दुई जनामा कोरोना पुष्टि हुने गरेकोमा १६ पुसदेखि संक्रमितको संख्या बढेको हो । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा नेपाल आउने नागरिकमा समेत संक्रमण दर बढ्न थालेको उनले बताए । ‘तीन दिनयता भारतबाट आएका नागरिकमा कोरोना संक्रमणदर बढी रहेको छ,’ उनले भने, ‘भारतमा कोरोना संक्रमण दर बढेपछि त्यसको असर यहाँ देखिएको हुनसक्छ ।’

सीमामा गरिने एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभको संख्या बढ्थालेपछि उनीहरूको व्यवस्थापनका लागि आइसोलेसन सेन्टरलाई सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

‘कोरोना संक्रमितको संख्या घट्न थालेपछि आइसोलेसन सेन्टरलाई पूर्णरुपमा सञ्चालन गरिएको थिएन,’ स्वास्थय कार्यालय कैलालीका प्रमुख धामीले भने, ‘अब फेरि आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर व्यवस्थापन गरेर तयारी थाल्दैछौं ।’

धनगढी-७ बेलामा रहेको आइसोलेसन सेन्टर र धनगढी-३ मा तीन हजार जनालाई राख्न सकिनेगरी निर्माण गरिएको नयाँ होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्ने काम भइरहेको उनले बताए ।

निजी सवारी प्रयोगकर्ता घर जानपाउने

भारतबाट नेपाल आउँदा कोरोना संक्रमण पुष्टि हुने मध्ये निजी सवारी प्रयोगकर्तालाई घर जान दिइने गरिएको छ । निजी सवारीमा सुरक्षित तवरले घर जाने ग्यारेन्टी भएमा त्यस्ता संक्रमितलाई घर जान दिइने गरेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्रसिंह कार्कीले बताए । तर, सार्वजनिक सवारी प्रयोगकर्तालाई भने आइसोलेसन सेन्टरमा राख्ने गरिएको उनले बताए ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले घर जान चाहेमा उसलाई निजी सवारी प्रयोग गर्न सल्लाह दिने गरेका छौं,’ प्रवक्ता कार्कीले भने, जसले निजी सवारीको व्यवस्थापन गर्न सक्दैन उसलाई धनगढीमै निर्माण गरिएका आइसोलेसन सेन्टरमा राख्ने गरेका छौं, रोग निको भएपछि मात्र उनीहरूलाई घर पठाइन्छ ।’

पाँच महिनासम्म बनेन प्रतिक्षा केन्द्र

भारतबाट आउने नेपालीलाई कोरोना परीक्षण गर्न र परीक्षण पछिको रिपोर्ट आउने बेलासम्म बस्ने व्यवस्थाका लागि निर्माण गर्ने भनिएको सीमानाकाको प्रतिक्षालय पाँच महिनासम्ममा बनेको छैन । सुदूरपशिचम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले गत १ भदौमा सीमाको निरीक्षण गर्दै तत्काल प्रतिक्षालय निर्माण गर्ने घोषणा गरेका थिए । तर, पुस मध्य भइसक्दा पनि गौरीफन्टा नाकामा प्रतिक्षालय बनेको छैन ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिहं कार्कीले भने प्रतिक्षालय बनाउने जिम्मा स्थानीय तहलाई दिइएको बताए । सीमामा प्रतिक्षालय निर्माणका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जिम्मा दिइएको छ,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले २० लाख बजेट पनि छुट्याएको छ, तर माग भएको छैन ।’

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने प्रतिक्षालय बनाउने भनिएको ठाउँबाट स्वास्थ्य परिक्षण केन्द्र नहटेका कारण ढिलाई भएको बताए । हाल स्थापना गरिएको स्वास्थ्य परीक्षण केन्द्रलाई सो ठाउँबाट हटाएर त्यहाँ नागरिक प्रतिक्षा केन्द्र निर्माण गर्ने सहमति प्रदेश सरकारसंग भएको हो,’ उनले भने, तर स्वास्थ्य परीक्षण केन्द्र हटाइएको छैन, जस कारण प्रतिक्षा केन्द्र निर्माण गर्न सकिएको छैन ।’

स्वास्थय परीक्षण केन्द्र हटेमा सात दिने सूचना प्रकाशित गर्दै तत्कालै टेण्डर प्रक्रिया अघि बढाइने मेयर थापाले बताए । यात्रु प्रतिक्षालय निर्माणका लागि ४० लाख लगानी गरिनेछ । २० लाख प्रदेश सरकार, १५ लाख पुनर्वास नगरपालिका र पाँच लाख धनगढी उप महानगरपालिकाले व्यहोर्ने सहमति भएको पुनर्वास नगरपालिकाका मेयर थापाले बताए ।

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १७:१८