१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल पत्रकार महासंघद्वारा फौजदारी संहिता सच्याउन माग

१६ साउन,काठमाडौँ । नेपाल पत्रकार महासंघले आगामी भदौ १ गतेबाट लागू हुने फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र त्यसको विश्वव्यापी मूल्य–मान्यतामाथि आघात पुग्नसक्ने अवस्था देखिएकाले सच्याउन माग गरेको छ ।

महासंघको आज बसेको बैठकले उक्त फौजदारी संहितामा सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि प्रभावित हुने विषय उल्लेख भएकाले त्यसमा प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको महासचिव रमेश विष्टले जानकारी गराउनुभयो ।

बैठकले महासंघले विसं २०७४ भदौं २३ गते सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या, समाधान र हकहितलाई लिएर बुझाएको माग पूरा गर्नका लागि तत्काल आवश्यक कदम चाल्नसमेत आग्रह गरेको छ ।

यसैगरी बैठकले पछिल्ला दिनमा प्रकाशित प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यमउपर कानूनी कारबाही बढेकाले त्यस्तो भयको वातावरण सृजना नगर्न महासंघ सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता काम कारवाही तुरुन्त रोक्न मागसमेत गरेको छ ।

महासंघको गण्डकी प्रदेश समितिले चौधरी ग्रुपसँग सहयोग माग गरिदिएको निवेदनमाथि आफूखुशी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको इज्जत प्रतिष्ठामाथि गम्भीर क्षति पु¥याएकाले आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहो¥याउन महासंघ सजग गराएको महासचिव बिष्टले बताउनुभयो । बैठकले महासंघको चौथो पूर्ण बैठक आगामी साउन २३ र २४ गते प्रदेश नं ५ को लुम्बिनीमा गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार २०:१९