१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

पुस ७, काठमाण्डाैं । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर )वितरण गरेको छ ।

चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले यहाँका १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको जनाएको छ ।

गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ध गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिनुभयो ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि क्षेष्ठले बताउनुभयो । “गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्”, उहाँले भन्नुभयो, “खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उहाँले यसका लागि किसानलाई सहयोग गरिएको बताउनुभयो । “परम्परागत रुपमा खेती गर्दा आम्दानी भन्दा लागत बढी पर्न गएको छ । कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, उहाँले भन्नुभयो, “किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौँ ।’

कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि आंैजार वितरण गरिएको अध्यक्ष क्षेष्ठको भनाइ छ । रु ७७ लाख १३ हजारको बजेटबाट किसानको मागका आधारमा वडामा वितरण भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

कृषि उत्पादन बढाउन र लागत घटाउन गत वर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो ।

प्रकाशित मिति : December 22, 2021 at 4:00 pm