११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

अष्ट्रेलियाको एडिलेडमा यस वर्ष पनि नेपाली टोपी दिवस मनाईदै

३ पुस, एडिलेड। प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाले एडिलेडमा जनवरी १ मा अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

मञ्चले सन् २०१८को नया वर्ष देखी प्रत्येक वर्ष टोपी दिवस मनाउदै आएको छ । साउथ अष्ट्रेलिया समितिका अध्यक्ष हेम खनालले प्रवासी नेपालीहरुको एकता, सद्भाव र पहिचानको रुपमा परिचित नेपाली टोपी र पोसाकलाई संसारभर चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

मञ्चका उपाध्यक्ष तथा २०१८का कार्यक्रम संयोजक आर के शर्माले नेपाल बाहिर हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने अभियानलाई मियोको स्वरुप दिन, विगत बर्षहरु झै यस वर्ष पनि नेपाली टोपी दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

उनले पहिलो कार्यक्रम संगठनको पारिवारिक र केहि सामाजिक अगुवाहरुका विचमा गरिए पनि पछिल्ला कार्यक्रम वृहत् रुपमा हुँदै आएको बताए । कार्यक्रम व्यवस्थापन समिति संयोजक तथा प्रवासी युवा मञ्च साउथ अष्ट्रेलियाका संयोजक धिरजजंग खड्काले नेपाली अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि पनि संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने उद्देश्य समेत रहेको बताए ।

उनका अनुसार कार्यक्रममा मनोरञ्जनात्मक खेलहरु छेलो हान्ने पनि खेलाईने भएको छ । कार्यक्रमको आकर्षण पञ्चेवाजा समूह एडिलेडको प्रस्तुति पनि रहेको छ । संयोजक खड्काले टोपी दिवस आयोजना मञ्चले गरे पनि सबैको साझा कार्यक्रम भएको बताए । उनले अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाली टोपी र नेपाली पोशाक मार्फत नेपाललाई चिनाउने अभियानमा सरिक हुन सबै एडिलेडबासीमा अनुरोध गरेका छन ।

तस्बीरः सन २०१८ मा एडिलेडमै मनाइएको टोपी दिवस ।

प्रकाशित मिति : December 18, 2021 at 9:27 am