२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

आमाबुबाले दोस्रो विवाह गरे, नाबालक छोराछोरीको बिचल्ली


-जीवन कैला

२९ मंसिर, बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका–१ पिपलडालीका दुई बालबालिकाको बिचल्ली भएको छ । बुबाआमाले अर्को बिहे गरेपछि उनीहरूको बिचल्ली भएको हो । बुबा हर्क लुवार र आमा रिठु लुवारले दोस्रो विवाह गरेपछि ७ वर्षीया दिपीका लुवार र ४ वर्षका पुष्प लुवारको बिचल्ली भएको हो ।

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए ।
छोरा र बुहारीले दोस्रो बिहे गरेपछि नातिनातिनीको बिचल्ली भयो,’ हजुर बुबा जंगवीरले भने, ‘उनीहरू विद्यालयसमेत जान पाएका छैनन् ।’

हलिया परिवारका उनीहरूको गाँसबासको समेत टुुंगो छैन । ‘बिहान खाए बेलुका के खाने ? बेलुका खाए, बिहान के खाने ? भन्ने चिन्ता भएकोले नाबालक नातिनातिनीलाई बिद्यालय पठाउन सकेको छैनौँ,’ हजुर आमा धिरुले गुनासो गरिन् ।

मागेर वा दैनिक ज्यालादारीको रूपमा काम गरेर जीविकोपार्जन गरिरहेको धिरु ल्वारले बताएकी छन् । उमेरले पनि ६५ वर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन्, न कसैको घरबाट मागेर ल्याउन नै सक्छन् । ‘उमेर भए त काम गरेरै भए पनि, अर्काको घरमा गएर हलो जोतेर भए पनि खान्थेँ, नातिनातिना पाल्थेँ,’ जंगवीरले भने ।

जंगवीर र धिरु लौराको सहारामा हिँड्डुल गर्छन् । उनीहरूकै काँधमा नाबालक नातिनातिनीको पालनपोषणको जिम्मेवारी आइपरेको छ । यसका लागि उनीहरू सहयोगको लागि आग्रह गर्छन् । दोस्रो बिहे गरेर छोरा सम्पर्कविहीन भएपछि आफूसहित नातिनातिनीको विचल्ली भएपछि जंगवीर दम्पती चिन्तित् भएका छन् । न्युज कारखाना

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १४:४१

https://srdb.com.np/