२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेस सभापति पदको पुन: मतदान सकियाे, ४५६२ मत खस्यो

२८ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुन: मतदान सम्पन्न भएको छ ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।

सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार २२:०३